अन्तिमसम्म टिक्लान् नेतृत्वका आकांक्षी ?

Date:

Share post:

केही नेता सभापतिमा चुनाव लड्ने गरी लागेका भए पनि कतिपयको उम्मेदवारी पदाधिकारीको बार्गेनिङमा टुंगिने देखिन्छ
‘उम्मेदवारी घोषणा गर्नेहरु कसैले पनि चुनावी एजेन्डा ल्याउन सकेका छैनन्, कांग्रेसको महाधिवेशनमा नेतृत्व दाबी गर्नेले स्पष्ट दृष्टिकोण र योजना ल्याउन सक्नुपर्छ’
कलेन्द्र सेजुवाल
thumbकाठमाडौँ — कांग्रेस नेता रामशरण महतले बुधबार बीपी स्टडी युथ सर्कलद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा दाबी रहने बताए । सँगसँगै उनले आफ्नो दाबीलाई कमजोर पार्ने गरी थपे, ‘तर म विचार मिल्नेहरूबीच एकताको पक्षमा छु ।’ पार्टीका पूर्वसहमहामन्त्री समेत रहेका महत वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट एकमात्र उम्मेदवार हुनुपर्छ भन्ने पक्षमा छन् । तर, महाधिवेशन नजिकिँदै जाँदा नेताहरूले धमाधम नेतृत्वमा दाबी गर्न थालेपछि उनले पनि आकांक्षा प्रस्तुत गरेका हुन् । कार्यक्रम आयोजकसमेत रहेका महतनिकट युवा नेता भूपेन्द्रजंग शाहीले उनको दाबेदारीको औचित्य प्रष्ट्याउने प्रयास गरे । ‘उहाँ पार्टीको वरिष्ठ र वैचारिक नेता हुनुहुन्छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अब्बल हुनुहुन्छ,’ शाहीले भने, ‘पार्टीमा उहाँभन्दा कम योगदान भएकाहरूले दाबेदारी प्रस्तुत गरिरहँदा चुपचाप लाग्नु आफैंलाई कमजोर ठान्नु हो ।’

महतझैं पछिल्लो समय कांग्रेसका अन्य नेताले पनि नेतृत्वमा दाबी गरिरहेका छन् तर अधिकांशको दाबेदारी चर्चा बटुल्ने र पदाधिकारीको बार्गेनिङमा लक्षित छ । नेतृ सुजाता कोइरालाले पनि सोमबार गृहजिल्ला मोरङमा आयोजित कार्यक्रममा सभापतिमा उठ्ने घोषणा गरिन् । उनको उम्मेदवारीको औचित्य सहमतिको नेतृत्वमा लक्षित छ । ‘सबैले सभापतिमा उठ्छु भनिरहँदा उहाँ (सुजाता) ले पनि उठ्छु भन्नुभएको हो,’ कोइरालाका राजनीतिक सहयोगी लक्ष्मण थपलियाले भने, ‘कांग्रेसमा उहाँको पनि धेरै ठूलो योगदान र बलियो जनमत छ ।’ अहिले उम्मेदवारी घोषणा गरेका सबै जना उठ्ने अवस्था भएमा कोइराला पनि पछि नहट्ने उनले बताए ।

मंसिर २४–२६ मा काठमाडौंमा आयोजना हुने महाधिवेशनमा अहिलेसम्म १० जना नेताले नेतृत्वमा प्रष्टसँग आकांक्षा देखाएका छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत तथा कल्याण गुरुङले उम्मेदवारी दाबी गरिरहेका छन् । कांग्रेस राजनीतिबारे जानकार राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेतले केही नेताले जितेर सुधार गर्न सक्छु भन्ने लक्ष्य राखेका भए पनि कतिपयले पदाधिकारीका लागि बार्गेनिङ गरेको हुन सक्ने बताए । ‘उम्मेदवारी घोषणा गर्नेहरू कसैले पनि अहिलेसम्म चुनावी एजेन्डा ल्याउन सकेका छैनन्, त्यसैले सबै जना सभापतिमै लड्छन् भन्न सकिने अवस्था देखिँदैन,’ उनले भने, ‘तर कांग्रेसको महाधिवेशनमा नेतृत्व दाबी गर्नेले स्पष्ट दृष्टिकोण र योजना ल्याउन सक्नुपर्छ ।’

१३ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका सिटौलाले उम्मेदवारको खास सूची प्रदेश अधिवेशनपछि आउने बताए । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका मतदाता एउटै हुने भएकाले प्रदेशको परिणामले केन्द्रीय महाधिवेशनमा समीकरण र सभापति उम्मेदवारको नाम संकेत गर्ने उनको भनाइ छ । ‘अहिले धेरै जना साथीले पार्टी नेतृत्वमा उम्मेदवारी घोषणा गरिरहनुभएको छ तर त्यो महाधिवेशसम्म टिक्छ कि टिक्दैन भन्ने कुरा प्रदेश अधिवेशनको परिणामले देखाउँछ,’ यसपटक पनि सभापति उम्मेदवार बन्ने प्रयासमा रहेका उनले भने, ‘अरूको बारेमा त भन्न सक्दिनँ तर म सभापतिको उम्मेदवार हुँ । प्रदेश अधिवेशनपछि औपचारिक रूपमा घोषणा गर्नेछु ।’

पार्टीभित्र तेस्रो समूहको नेतृत्व गरिरहेका सिटौलासँगै सभापति देउवा र गत महाधिवेशनमा उनका प्रमुख प्रतिस्पर्धी पौडेलको उम्मेदवारी स्वाभाविक देखिन्छ तर पछिल्लो समय कोइराला समूहका प्रमुख सदस्य शेखर र देउवा समूहबाट अलग्गिएका उपसभापति निधिको उम्मेदवारी पनि निकै पेचिलो बन्दै गएको छ । शेखरले १३ औं महाधिवेशनलगत्तै सभापति उम्मेदवार बन्ने घोषणासहित देशदौडाहा थालेका थिए । महाधिवेशन नजिकिँदै जाँदा संस्थापन समूहले शेखरको अवस्था मजबुद बन्दै गएको विश्लेषण गर्न थालेको छ । ‘अर्को समूहबाट सबैभन्दा बलियो उम्मेदवार को हुन्छ भन्नेबारे हामीले विश्लेषण गरिरहेका छौं,’ देउवानिकट एक नेताले भने, ‘केन्द्रीय सदस्य मात्र भए पनि शेखरले आफ्नो शक्तिलाई जबर्जस्त रूपमा बलियो बनाउँदै लगेको हाम्रो बुझाइ छ ।’

कान्तिपुरसँको कुराकानीमा शेखरले पहिलो चरणमै आफूले जित्ने दाबी गरे । देउवाइतर समूहबाट आफ्नो साझा उम्मेदवारी हुने र देशभरको अवस्था निकै मजबुत रहेको उनको भनाइ थियो । ‘हामीले निकै सूक्ष्म रूपमा अहिलेसम्म भएका अधिवेशनको नतिजा केलाएका छौं, हामी साँच्चिकै बलियो छौं,’ उनले भने, ‘यस्तो अवस्थामा मैले नेतृत्वको दौडबाट पछि हट्ने त कल्पनासमेत गर्न सकिँदैन ।’ शेखरझैं निधिको उम्मेदवारी पनि पछि नहट्ने गरी अघि बढेको छ । देउवाको साथ छोडेका उनले भदौ ११ मा बानेश्वरमा सम्पर्क कार्यालय खोलेर उम्मेदवारी घोषणा गरेका थिए । निधिको प्रमुख आधार प्रदेश २ हो । उनी देउवाको टिममा नअटेका र उनको समूहका असन्तुष्ट नेता–कार्यकर्तालाई आफ्नो समूहमा संगठित गर्ने रणनीतिमा अग्रसर छन् ।

देउवाले पौडेल समूह फुटाएर आफ्नो टिम निर्माण गर्ने प्रयास गरिरहेको एक नेताले बताए । सिटौला समूहलाई पनि समाहित गर्ने उनको कसरत छ । ती नेताका अनुसार देउवाको अबको प्रयास कोइराला परिवारको विरासत बोकेका शशांक वा सुजातामध्ये एकलाई आफ्नो टिमको उपसभापति बनाउने हुनेछ । ‘सिटौलालाई उपसभापतिसहित उनको टिमका अन्य नेतालाई पदाधिकारी तथा सदस्यमा भाग दिएर टिम बन्ने सम्भावनालाई पनि नकार्न सकिँदैन,’ ती नेताले भने, ‘देउवा आफ्नो एकल टिमको आधारमा चुनाव जित्न सकिन्छ भन्नेमा हुनुहुन्न, त्यसैले जित सुनिश्चित हुने गरी आफूइतर समूहका नेतालाई ल्याउने प्रयासमा हुनुहुन्छ ।’

कांग्रेसमा कोइराला परिवारको लिगेसी बलियोसँग स्थापित छ । अहिले कोइराला वंशमा बीपीपुत्र शशांक, नोना–केशवपुत्र शेखर र गिरिजाप्रसादपुत्री सुजाता तेस्रो पुस्ताका नेता हुन् । १३ औं महाधिवेशनमा तीनै जनाले पदाधिकारी दाबी गरेका भए पनि सल्लाहमै शशांकलाई अघि सारिएको थियो । यसपटक भने शेखर र शशांक दुवैले सभापतिमा दाबी गरिरहेका छन् । केही समय अघिसम्म मौन रहेकी सुजाताले पनि सभापतिमा आकांक्षा राखेकी छन् । उनको समर्थनले शशांक–शेखरको प्रतिस्पर्धालाई निर्णायक मोड दिन सघाउने अपेक्षा गरिएको थियो । आफैं सभापति बन्ने दौडमा अघि सरेपछि भने कोइराला समूहभित्रको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।

राजनीतिक विश्लेषक बस्नेतले कोइराला परिवारका सदस्यहरूको उम्मेदवारीले पार्टीमा अर्थ राख्ने बताए । ‘उनीहरू एक ठाउँ भएर लडे भने टिम बलियो हुन्छ तर कसरी अघि बढ्छन् भन्न सकिने अवस्था छैन,’ उनले भने । प्रजातन्त्र पुनःस्थापनापछि स्वदेश फर्केकी सुजाताले छोटो समयमै राजनीतिक उचाइ लिइन् । करिब डेढ दशकमै पार्टीको विदेश विभाग प्रमुख र सरकारको उपप्रधानमन्त्री बनिन् । पिता गिरिजाप्रसाद कोइरालाको निधनपछि राजनीतिक उचाइ बढाउन हम्मे भए पनि पार्टीको १४ औं महाधिवेशन नजिकिँदै जाँदा सक्रियता बढाएकी छन् । करिब एक महिना अघिसम्म नेतृत्वमा उम्मेदवारी दिनेबारे उनी स्पष्ट थिइनन् । उनीनिकटका अनुसार सभापतिमा दावी गरेर उपसभापतिको सुनिश्चितता खोजेकी छन् ।

मंसिरमा महाधिवेशन हुने सम्भावना बढेसँगै नेताहरूको चुनावी सक्रियता बढेको छ । जिल्ला दौडाहा र भेटघाटलाई तीव्र बनाएका छन् । सहमहामन्त्री प्रकाशशरण महतले केही दिनअघि कांग्रेसनिकट पत्रकारसँग भेटघाट गरी पूर्वी नेपालको दौडाहा थालेका छन् । उनी देउवा समूहबाट महामन्त्रीका दाबेदार हुन् । खानेपानीमन्त्री रहेका केन्द्रीय सदस्य उमाकान्त चौधरीले आफ्नो समूहका नेता कृष्णप्रसाद सिटौलासमेतलाई बोलाएर शनिबार चियापान आयोजना गरे । कार्यक्रममा समूहबाट अलग भएका गगन थापा पनि सहभागी थिए । उनले कांग्रेसमा नेतृत्व परिवर्तन गर्ने अभियानको अगुवाइ सिटौलाले गर्ने अर्थपूर्ण अभिव्यक्ति दिए ।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहजिल्ला झापामै छन् । उनीहरूले घरेलु राजनीतिलाई आफूअनुकूल बनाउन प्रयास गरिरहेका छन् । दसैंमा गृहजिल्ला सुर्खेत गएका महामन्त्री पूर्णबहादुर खड्का काठमाडौं फर्केका छैनन् । उनले कर्णाली प्रदेश सरकारको नेतृत्वमा आफूनिकट नेता जीवनबहादुर शाहीलाई स्थापित गरेर प्रदेशको राजनीतिमा पकड थप बलियो बनाएका छन् । उनी उपसभापतिका आकांक्षी हुन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेता बालकृष्ण खाँणले तीन दिनयता गृहप्रदेश लुम्बिनीका साथै प्रदेश १, कर्णाली र सुदूरपश्चिमको भ्याएका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका साथै महाधिवेशन लक्षित भेटघाट पनि गरेका उनीसँगै गएका एक कांग्रेस नेताले बताए । खाँण देउवा समूहबाट महामन्त्रीका दाबेदार हुन् । महामन्त्रीका अर्का आकांक्षी नेता ज्ञानेन्द्रबहादुर कार्की पनि पूर्वी क्षेत्रको तीनदिने भ्रमण सकेर काठमाडौं फर्केका छन् ।

पुनः मतगणनाको माग

रामेछाप– कांग्रेसको हालै सम्पन्न रामेछाप जिल्ला अधिवेशनको मतगणना पुनः हुनुपर्ने मागसहित नेताहरूले केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन् । धाँधली भएको उनीहरूको आरोप छ । महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरू र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र त्यस्तो मत गणना नभएको भन्दै मंगलबार केन्द्रीय समितिमा निवेदन परेको हो ।

जिल्लाको उप–सभापति पदका उम्मेदवार वेदराज लामा, महाधिवेशन प्रतिनिधिका उम्मेदवार गजेन्द्रबहादुर कार्की, झनक श्रेष्ठ, सृजना खड्का, सुमित्रा मोक्तान र डा. सुमन कर्माचार्यले निवेदन दिएका हुन् । निवेदकहरू विजय भएका उम्मेदवारबाट झिनो मतको अन्तरमा पराजित भएका थिए । हिमाली जिल्ला रामेछापमा गत असोज २६ मा जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मत परिणाम घोषणासहितको प्रतिवेदन केन्द्रीय निर्वाचन समितिलाई बुझाइसकेका छन् ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...