29.1 C
Kathmandu
Monday, May 12, 2025
spot_img

अमेरिकाबाट आएको शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्री नै सक्रिय

- Advertisement -

पृथ्वीबहादुर शाहका नाममा आएको रकम जफत गरी अमेरिका पठाउन त्यहाँको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले राष्ट्र बैंकलाई गर्‍यो पत्राचार
स्वायत्त निकाय राष्ट्र बैंक र प्रधानमन्त्री कार्यालयमातहतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रभावित गर्न अर्थमन्त्रीले पत्र लेखेरै भने– ‘रकम नरोक्नू’
‘मैले राष्ट्र बैंकलाई पैसा नै ठूलो कुरा होइन, यदि जफत नै गर्नुहुन्छ भने गरे पनि हुन्छ भनिदिएको छु । त्यो पनि गर्दैनन् । यस्तै प्रवृत्तिले देश कंगाल हुँदै छ ।’ – पृथ्वीबहादुर शाह
कृष्ण आचार्य
thumbकाठमाडौँ — एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकिदिएपछि छुटाउन अर्थमन्त्री जनार्दन शर्मा आफैं अघि सरेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बखत अर्थमन्त्रीले पैसा छुटाउन लिखित निर्देशन दिएकाले विषय झन् गम्भीर भएको छ । अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको एक अधिकारीले बताए । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला अर्थमन्त्री शर्माले हस्तक्षेप गरेका हुन् ।

‘सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने फिनसेनले शाह र परिवारका नाममा आएको रकम जफत गरी फिर्ता पठाउनु भनेपछि खाता रोक्का राखी अनुसन्धान सुरु गरेका थियौं,’ विभागका एक अधिकारीले भने, ‘तर अर्थमन्त्रीज्यू आफैंले लिखित पत्राचार गरेर रकम फुकुवा गरिदिन निर्देशन दिनुभएको छ, राष्ट्र बैंकलाई पनि उहाँले त्यस्तै दबाब दिनुभएको भन्ने बुझिन आएको छ ।’

- Advertisement -

अर्थमन्त्रीले लिखित नै निर्देशन दिएका भए पनि त्यसकै आधारमा रकम फुकुवा दिन नसकिने राष्ट्र बैंकका एक अधिकारीको भनाइ छ । ‘फिनसेनजस्ता निकायको पत्राचार तथा चेतावनी नमान्ने हो भने सम्पत्ति शुद्धीकरण निवारणमा काम नगरेको भन्दै अन्तर्राष्ट्रिय जगत्मा नेपाल कालोसूचीमा पर्ने अवस्था आउन सक्छ,’ ती अधिकारीले भने, ‘यता अर्थमन्त्रीले नै त्यस्ता पत्रको वास्ता गर्नु पर्दैन, खातामा भएको रकम फुकुवा गरिदिनु भनेपछि हामी चेपुवामा परेका छौं ।’

अनुसन्धान गरिरहेको निकाय वा अधिकारीलाई अनुसन्धान रोक भनेर निर्देशन दिन कुनै पनि पदमा आसीन व्यक्तिले मिल्दैन । त्यसमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहतको निकाय पनि होइन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा यो विभागलाई अर्थबाट प्रधानमन्त्री कार्यालय मातहत सारिएको हो । त्यस्तै राष्ट्र बैंक आफैंमा स्वायत्त नियामक निकाय हो, जसलाई अर्थमन्त्रीले निर्देशन दिन मिल्दैन ।

‘अनुसन्धान रोक भनेर त कुनै पनि पदाधिकारीले कसैलाई पनि निर्देशन दिन मिल्दैन । अर्थ मन्त्रालयका तर्फबाट राष्ट्र बैंक सञ्चालक समितिमा अर्थ सचिवको प्रतिनिधित्व हुन्छ, त्यहाँ नै उनले नीतिगत रूपमा मन्त्रालयको प्रस्ताव राख्ने हो,’ एक पूर्वगभर्नर भन्छन्, ‘तर राष्ट्र बैंकभित्रको वित्तीय जानकारी इकाइ (एफआईयू) ले गरिरहेको निगरानीका विषयमा त राष्ट्र बैंकको सञ्चालक समितिले समेत केही भन्न पाउँदैन । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरूको कारोबारसमेत शंकास्पद भएमा अनुसन्धानका लागि सिफारिस गर्नेसम्मको अधिकार यो निकायले राख्छ । त्यो निकायलाई अर्थमन्त्रीले निर्देशन दिनु गैरकानुनी हो ।’

उता फिनसेनले भने शाहमाथिको अनुसन्धान प्रगतिबारे निरन्तर ताकेता गरिरहेको राष्ट्र बैंक स्रोत बताउँछ । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ भनेर जानकारी पठाइरहेका छौं,’ स्रोत भन्छ । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले कुनै कारोबार शंकास्पद देखिए अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखिपठाउने हो । तर, अर्थमन्त्री शर्माको हस्तक्षेपका कारण प्रभावकारी अनुसन्धान हुन सकेको छैन ।

अर्थमन्त्री शर्माले पनि शाहका नाममा आएको रकम छुटाउन राष्ट्र बैंकलाई ‘निर्देशन’ दिएको स्वीकार गरेका छन् । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान टुंग्याएर शाहलाई सफाइ दिइसकेको छ, सफाइ पाइसकेपछि पनि राष्ट्र बैंकले खाता रोक्का राखिरहेकाले फुकुवा गर्न अनुरोध गरिएको हो,’ मन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक अजित अधिकारीले कान्तिपुरलाई प्रतिक्रिया टिपाए ।

- Advertisement -

अर्थमन्त्री शर्माले दाबी गरे पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहलाई सफाइ दिएको छैन, खासमा अनुसन्धान अहिलेसम्म टुंगिएको छैन । विभागका महानिर्देशक प्रेम भट्टराईले बुधबार राति भने, ‘शाहको पैसासम्बन्धी अनुसन्धान गर्न फाइल खडा भएको छ । अनुसन्धान जारी छ । हरेक नागरिकको निजी सम्पत्तिको गोपनीयताको हक हुन्छ । यसभन्दा थप विवरण दिन मिल्दैन ।’

रेमिट्यान्सको रकम भन्दै उनका विभिन्न कम्पनी र परिवारका सदस्यहरूको खातामा रकम जम्मा भएको हो । स्रोतका अनुसार ग्लोबल आईएमई, प्राइम, कुमारीलगायत बैंकहरूमा रकम आएको छ । जम्मा भएको केही रकम शाहले पहिले नै झिकेर अन्यत्रै लगिसकेका छन् ।

शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोले पनि उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘यी कम्पनीहरूको अध्ययन गर्दा देखाउन मात्र खोलिएका हुन् भन्ने निष्कर्ष आएको छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘सम्पत्ति शुद्धीकरण गर्नका लागि यी कम्पनीहरू खडा गरिएका देखिन्छन् । खास कारोबार अत्यन्तै न्यून मात्रामा भएको देखिन्छ ।’ नेपाल वा अन्य देशमा भ्रष्टाचार, कर छली वा अन्य गैरकानुनी क्रियाकलापबाट सिर्जना भएको रकम शाहका नामबाट नेपाल आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ । यो रकमको स्रोतका विषयमा राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग निष्कर्षमा भने पुगिसकेका छैनन् ।

उता फिनसेनले पनि यो रकमका बारेमा विस्तृत जानकारी नदिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘यो रकम कस्तो स्रोतबाट सिर्जित हो भनेर फिनसेनले पनि हामीलाई भनेको छैन । तर अनुसन्धानका लागि त्यहाँ पनि प्रहरीसहित अनुसन्धान युनिटसमेत खडा गरेको जनाएको छ,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘आवश्यक परे त्यहाँको अनुसन्धान अधिकारीहरूसँग समन्वय गर्नका लागि सम्पर्क नम्बर, इमेल तथा पत्राचार ठेगानासमेत पठाएको छ, हामी समन्वय गर्दै छौं ।’

यता, कारोबारी शाहले भने राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियतवश दुःख दिएको बताए । ‘मैले डलर प्राप्त गरेको स्रोतबारे राष्ट्र बैंकलाई स्पष्ट खुलाइसकेको छु । व्यवसाय गर्दा ३–४ वर्षदेखि दुःख पाइरहेको छु । हिजोआज त मेरा सबै खाता रोक्का गरिएको छ । मलाई राष्ट्र बैंकले दुःख दिइरहेको छ,’ उनले भने, ‘सहेर अझै विकल्प हेरिरहेको छु । धेरै दुःख दिए भने अब अदालत नै जान्छु होला ।’ ट्राभल, रेमिट्यान्स कम्पनी, टायल तथा मार्बलहरूको व्यापारबाट आर्जित रकम विदेशबाट प्राप्त भएको शाहको दाबी छ ।

आफ्नो मात्रै नभई आमा, बुबा, भाइहरू तथा कम्पनीका कर्मचारीहरूको पनि खाता रोकिएको उनले बताए । ‘मेरो १२ करोड ऋण छ । खातामा पैसा छ तर ऋण तिर्न पाएको छैन । घर लिलामी हुन लागिसक्यो । मेरो सबै व्यवसाय बिगारिदिए । मेरा धेरैजसो अफिस पनि बन्द हुन थाले,’ उनले भने, ‘म धेरै संघर्ष गरेर आएको मान्छे हुँ । राष्ट्र बैंक गएर मैले धेरै पटक भनिसकें । सुन्छन्, हुन्छ भन्छन्, पैसा खोलिदिँदैनन् ।’

अर्थमन्त्रीले भने आफूलाई सहयोग गर्न खोजेको उनको भनाइ छ । ‘अर्थमन्त्रीज्यूले राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि भनिदिनुभएको छ । सबैतिरबाट क्लिन चिट पनि पाइसकेको छु । तर, यो नियम, त्यो नियम भनेर रोकिरहेका छन् । हिजोआज मेरो दिन राष्ट्र बैंकमै बित्छ ।’

राजनीतिमा सक्रिय नरहेको तर माओवादी राजनीतिमा सम्बन्ध रहेको उनले बताए । ‘म माओवादीसम्बद्ध नै मान्छे हुँ । पार्टीलाई सल्लाह दिन्छु, व्यवसाय गर्छु । व्यवसाय गरेको १६–१७ वर्ष भयो,’ उनले भने, ‘मैले राष्ट्र बैंकलाई पैसा नै ठूलो कुरा होइन, यदि जफत नै गर्नुहुन्छ भने गरे पनि हुन्छ भनिदिएको छु । त्यो पनि गर्दैनन् । यस्तै प्रवृत्तिले देश कंगाल हुँदै छ ।’(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles