वासिङ्टन — कोभिड–१९ को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गरेको छ । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सोमबारदेखि प्रयोगमा आएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो ।
अमेरिकामा कोरोनाको पहिलो खोप लङ्ग आइल्यान्डको एक अस्पतालमा कार्यरत नर्स सान्ड्रा लिन्ड्सेलाई लगाइएको हो । सोमबार करिब १५० अस्पतालमा कोरोना खोप वितरण गरिएको बताइएको छ । अमेरिकाले आउँदो वर्षको अप्रिल महिनासम्ममा १० करोड नागरिकलांई कोरोना खोप लगाइसक्ने बताएको छ ।
अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहका नागरिकलाई खोप दिइनेछ ।
यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण हालसम्म १६ लाखभन्दा मानिसको मृत्यु भइसकेको छ । तीमध्ये अमेरिकामा मात्रै ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विशेष अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।
उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।
पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि सुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।
चिकित्सकीय परीक्षणमा फाइजरको खोप कोभिड–१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो । यो खोप लिएको तीन सातामा दोस्रो डोज दिनुपर्छ । तर माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले फाइजरको खोप ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद्हरुको भनाइ छ ।(कान्तिपुर )