आलमको औकात : प्रहरीसँग नै मान्छे मार्छु भनेपछि…

Date:

Share post:

मातृका दाहाल
काठमाडौँ — बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् ।

कान्तिपुरलाई प्राप्त २ मिनेट २४ सेकेन्ड लामो अडियो/भिडियोमा आलमले ‘अब जिल्लामा आगो लाग्छ, एसपी र डीएसपीलाई हत्कडी लगाउँछु, जिल्लाभर अशान्ति हुन्छ’ भन्दै उनले धम्क्याएको देखिन्छ । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।

असोज २६ गते पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो । डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको ‘इद्रिस गेट’ नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला ‘डीएसपी साब, जरुरी काम छ, अहिले म वारात (जन्ती) जान्छु, यस विषयमा पछि कुरा गरौंला’ भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि ‘आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको’ भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् ।

आलमको धम्की र पक्राउपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । जिल्ला न्यायाधीश दीपक ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालको सुरक्षामा प्रहरी ‘अंगरक्षक’ तैनाथ गरिएको छ । आलमको धम्कीपूर्ण भिडियो ढकाल र कटवालले पनि हेरेका थिए ।

आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ता कटवालले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । १० दिन लामो थुनछेक बहसपछि कात्तिक २९ गते न्यायाधीश ढकालले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिए । लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आएका छन् ।

आलम समर्थितबाट सुरक्षा चुनौती महसुस गरेर काठमाडौं आए पनि न्यायाधीश ढकाल र न्यायाधिवक्ता कटवालले त्यस्तो नभएको जिकिर गरेका छन् । न्यायाधिवक्ता कटवालको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुर (हेटौंडा) सरुवा भएको छ । उनले रौतहट जान नसक्ने भन्दै महान्यायाधिवक्ता कार्यालयमा सरुवा मागेका थिए । ‘आलमका मानिसबाट थ्रेट भएकै कारण उहाँहरू काठमाडौं आउनुभएको हो,’ स्रोतले भन्यो, ‘जति नै अंगरक्षक लिए पनि मानसिक तनाव त कम हुँदैन नि भन्नुहुन्थ्यो ।’

आलमलाई पुर्पक्षको आदेश हुनु ३ दिनअघि कात्तिक २६ गते इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा भारतीय नम्बर प्लेटमा आएका व्यक्तिले बम फ्याँकेका थिए । बम विस्फोटबाट चौकी नजिकै खसी मरेको थियो भने प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएका थिए ।
आलमले पक्राउ परेको दिन प्रहरीलाई दिएको धम्कीबारे आफू जानकार रहेको न्यायाधिवक्ता कटवालले बताए । आलमले प्रहरीलाई हत्कडी लगाइदिने धम्की दिएका रहेछन् नि भन्ने कान्तिपुरको प्रश्नमा कटवालले भने, ‘अँ मैले पनि त्यो भिडियो हेरेको थिएँ ।’ उनले काठमाडौं आएको सन्दर्भमा भने ‘आलमको विषय अब अदालती प्रक्रियामा गइसकेकाले थप बोलिरहनु नपर्ने’ प्रतिक्रिया दिए । आलम र उनका समर्थकबाट कुनै धम्की आएको छ कि भन्ने प्रश्नमा उनले भने, ‘अलिअघि अभद्र व्यवहारमा मुद्दा दायर गर्न सकिन्थ्यो तर त्यसलाई पनि सामान्य रूपमै लियौं ।

यो विषय पुरानो भइसक्यो, आरोपित पुर्पक्षमै गइसकेपछि अब थप बोलिरहनुपरेन ।’ तर उनले आलम पक्राउ परेपछि प्रहरीबाट अंगरक्षक लिएको स्वीकार गरे । १२ वर्षअघिको अपराधमा संलग्नलाई सजाय दिने विषयमा फेला परेका तथ्य, प्रमाण, साक्षी र पीडितको संरक्षणमा कुनै पनि सम्झौता हुन नहुने उनले स्पष्ट पारे । आलमलाई नख्खु कारागारमा राखिएको छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...