केही प्रावधान खुकुलो बनाएर एक साता निषेधाज्ञा थप्नेबारे छलफल
मातृका दाहाल
काठमाडौँ — सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान खोल्न दिने तयारी भएको छ ।
‘पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको छ । खाद्य-किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,’ प्रजिअ पराजुलीले कान्तिपुरसँग भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । ‘सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिनेबारे छलफल भइरहेको छ,’ उनले भने ।
यससम्बन्धी निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक आजै (मंगलबार) बस्ने पनि प्रजिअ पराजुलीले बताए । जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।(कान्तिपुर )