एनआरएन बेल्जियमको चुनाव बिथोलियो, मतपेटिका तोडफोड

Date:

Share post:

बेल्जियम प्रहरी तीन पटकसम्म घटनास्थल पुग्यो
बसन्त रानाभाट
NRNA-Belgiumबार्सिलोना। ‘ओं माइ गड ! यस्तो गर्न मिल्दैन नि ! को आयो यसरी ? कस्ले पठायो ? यस्तो त गर्न मिल्दैन नि !’ आइतबार एनआरएनए बेल्जियमको आन्तोर्पेन बुथमा अकस्मात विदेशी मुलका केही युवाहरुको समूह प्रवेश गर्दै सिधैं मतपेटिका तोडफोड गर्न थालेपछि एक महिला यसरी चिच्चाउँदै थिइन्। एनआरएनए बेल्जियमको एघारौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिन झन्डै आधा घण्टा बाँकी रहँदा निर्वाचन बिथोलिएको हो । नेपाली समुदायभन्दा बाहिरका करीब पाँच जना युवाहरुलव सिधैं मतपेटिका तोडफोड गरेको नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले बताए।

घटनाका प्रत्यक्षदर्शी समेत रहेका पत्रकार शर्माले भने, ‘छेउको ढोकाबाट अचानक ४/५ जना युवाहरु सिधैं मतपेटिकातर्फ अघि बढे । त्यहाँ तरल पदार्थ के हाले । पानी वा केही हाले । कसैले मतपेटिका तोड्न शुरु गरे । मतपत्रहरु भुईँमा छताछुल्ल भयो। तबमात्र हामीलाई अब के हुँदैछ भन्ने थाहा भयो। बल्ल हामी एए भनेर उठ्न थाल्यौ।’

मतदाताहरु आउने मुख्य ढोकालाई प्रयोग नहुनु साथै छेउको ढोका खुल्ला राख्नु लापरबाही भएको भन्दै पत्रकार शर्माले शंकास्पद गतिविधि देखिएको बताए। शर्माले भने, ‘मतदान केन्द्रमा रहेको एक पक्ष मतपत्र बचाउनतर्फ लाग्यो अर्को पक्ष मतपत्र च्यात्नतर्फ लाग्यो। प्रत्यक्ष हेर्दा त्यहाँ यही दृश्य देखिन्थ्यो। निर्वाचन बिथोल्न र आक्रमणको लागि ती युवाहरुलाई प्रयोग गरिएको भन्नेमा कुनै शंका नै छैन।’

मतदान केन्द्रमा रहेका अधिकांश नेपालीहरु युवाहरु सो आक्रमणको प्रतीकारमा उत्रिएका थिए । पत्रकार शर्माका अनुसार सो क्रममा दुई जना नेपाली घाइते भएका छन् । कोषाध्यक्ष पदका उम्मेदवार पुष्प नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष शारदा अर्याललाई चोट लागेको हो। उनीहरुलाई उपाचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइए पनि २-३ घण्टापछि घर फर्किएका थिए।

मतपेटिका सुरक्षित छ, परामर्शपछि निर्णय लिन्छौ : निर्वाचन समिति

एनआरएनए आईसीसीका सह-कोषाध्यक्ष लोकप्रसाद दाहाल संयोजक रहेको निर्वाचन समितिले आईसीसी र उम्मेदवारहरुसँग परामर्शपछि निर्णय लिने जनाएको छ। घटनापछि एक विज्ञप्ति जारी गर्दै मतपत्रहरु एनआरएनए केन्द्रीय प्रतिनिधिहरु, एनआरएनए प्रतिनिधि र उम्मेदवारको रोहवरमा सात वटै केन्द्रको मतपेटिका सुरक्षित रहेको जनाएको छ ।

बुथ कब्जाको सिलसिलामा आक्रमणकारी व्यक्तिहरुले एक किसिमको केमिकल प्रयोग गरी पूर्वउपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सी, निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण गरी घाइते बनाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘त्यस्तै उक्त घटना घट्दै गर्दा सो निन्दनीय कार्यको विरोध गर्दै उनीहरुलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लोकप्रसाद दाहाल र वर्तमान अध्यक्ष चित्र सुवेदीलाई समेत आक्रमण गरी कुटपिट गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अकस्मात आन्त्र्वोपेन क्षेत्रमाविदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भुईँमा छरपष्ट पार्दै बुथ कव्जा गरी मत पेटिका कब्जा गर्ने गरिएको निर्वाचन समितिले उल्लेख गरेको छ। ‘मतपेटिकालाई फुटाली मतपत्रहरुलाई भुईँमा छिरोली बुथ कब्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनका सदस्य साथीहरुले त्यसको प्रतीकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सबै मटपत्रहरु सुरक्षित राख्दै पुन अर्को वक्सको व्यवस्था गरी सुरक्षित राखिएको छ,’ निर्वाचन समितिले जनाएको छ।

अध्यक्षकी उम्मेदवार प्रधान भन्छिन् – मतपत्रहरु सुरक्षित छैनन्

घटना लगत्तै घटनास्थलबाट नै फेसबुकमार्फत लाइभ गर्दै अध्यक्षकी प्रत्यासी अनुजा प्रधानले भने मतपत्रहरु सुरक्षित छन् भनिए पनि आफू विश्वस्त नभएको बताइन्। ‘आन्तोर्पेन बुथमा ब्यालेट बक्स फालिएको छ। मतपत्रहरु त्यहाँभित्र सुरक्षित छन् भनिए पनि म चाहिँ विश्वस्त छैन। किनकि त्यो ब्यालेट बक्समा साबुनपानी फ्याकिएको थियो। मैले त्यो आफ्नै आँखाले प्रत्यक्ष देखेकी हुँ,’ उनले भनिन्।

प्रधानले निर्वाचनलाई कसरी स्वीकृत दिने भन्ने कुरा आफैंमा द्विविधा भएको पनि बताइन् । उनले घटनाको जिम्मेवार अध्यक्षका अर्का प्रत्यासी सिपी भट्टमाथि इंकित गरिन् । ‘मलाई लाग्दैन यो प्रक्रिया अगाडि बढ्न स्वीकृत दिनुपर्छ । भट्ट दाइले आफैंले नैतिकताको आधारमा पनि यो निर्वाचनको प्रक्रियाबाट ब्याक हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रधानले भनिन्।

अर्का अध्यक्ष पदका उम्मेद्वार खड्कबहादुर केसीले पनि भट्टको निर्देशनमा मतदान प्रकृया बिथोल्ने काम भएको आरोप लगाएका छन् ।

यसैबीच प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अध्यक्ष बोधराज पौड्यालले पनि विज्ञप्ति प्रकाशित गर्दै पाँच गठबन्धनका अध्यक्षका उम्मेदवार चेत प्रसाद भट्ट (सिपी) ले गरेको गुन्डागर्दी र तोडफोड गरेको आरोप लगाएका छन्।

बेल्जियम प्रहरीले घटनाको अनुसन्धान गर्दै

आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुटेजहरु बुझाइ सकिएको निर्वाचन समितिले जनाएको छ। ‘प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको छ । र, श्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको जानकारी यहाँहरुलाई गराउन चाहन्छौं ।’ समितिले विज्ञप्तिमार्फत भनेको छ ।

आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानूनी उपचारतर्फ जाने निर्वाचन समिति दृढ निर्णय र संकल्प रहेको समितिले जनाएको छ।

‘उक्त घटनाकै सिलसिलामा निर्वाचनमा संलग्न पक्षहरुमध्ये एक पक्षबाट आएको विज्ञिप्तिप्रति निर्वाचन समितिको गम्भीर ध्यानकर्षण भएको जानकारी गराउँदै अबको बाटो कानूनी बाटो नै भएकोले सम्वद्ध सबैलाई कानूनी उपचार र फैसालको प्रतीक्षा गर्न आग्रह गर्दछौं,’ समितिको विज्ञप्तिमा उल्लेख छ।

घटनाका प्रत्यक्षदर्शी पत्रकार शर्माका अनुसार दुई पटकसम्म स्थानीय प्रहरी घटनास्थल पुगेको थियो। तेस्रो पटक पनि आउनु परेमा ५० हजार युरोसम्म जरिमाना तिर्नुपर्ने चेतावनी प्रहरीले दिएको पत्रकार शर्माले बताए।

भट्टलाई उम्मेदवार बनाउने गठबन्धन भन्छन् – निर्वाचनमा चरम लापरबाही

विभिन्न पाँच वटा गठबन्धनको समर्थनमा अध्यक्षका साझा उम्मेदवार बनेका चेतप्रसाद भट्ट (सिपि) पक्षले संयुक्त विज्ञप्ति जारी गर्दै आन्तोर्पेन बुथको घटना निन्दानीय भन्दै भर्त्सना गरेको छ ।

अर्को पक्षले घटनाको दोषी भट्ट पक्ष भन्दै आरोप लगाई रहेका बेला संयुक्त गठबन्धनले भने सदस्यता वितरण तथा नवीकरण समिति र निर्वाचन समितिका संयोजकको निष्पक्षतामाथि प्रश्न गर्दै घटनाको कारण उनीहरुनै रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘यो घट्ना घट्नुको कारण एनआरएन बेल्जियमको सदस्य वितरण तथा नवीकरण समितिको संयोजक तीर्थ धमलाको नियोजित चरम लापरबाही सदस्यता भैसकेको व्यक्तिहरुलाई पनि छानिछानी हटाउने । र< निर्वाचन समितिको संयोजक लोक दाहाललगायतले एक पक्षीय नामको मात्रै रुझु गर्ने । भएको नाम पनि छिनछिनमै विभिन्न क्षेत्रमा पार्ने । यस्ता सबै गलत क्रियाकलापलाई रोक्न नसक्ने निवर्तमान समिति पनि जिम्मेवार रहेको ठहर गर्दै निस्पक्ष छानबिनको गरियोस् भन्न चाहान्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष जित लामा, नेपाली सङ्घीय समाज बेल्जियमका महासचिव लोक राना र प्रवासी नेपाली एकता मञ्च बेल्जियमका अर्जुन दाहालको हस्ताक्षर रहेको छ ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...