दशरथपुर (सुर्खेत), पुस २५ – यहाँस्थित माओवादी लडाकुहरूको अस्थायी शिविरमा २ सय २१ पूर्वछापामार एसएलसी परीक्षाको तयारीमा जुटेका छन् । सशस्त्र द्वन्द्वमा एघार वर्ष बिताउँदा औपचारिक शिक्षा छाडेका युवाहरू शान्तिकालमा अधुरो पढाइ पूरा गर्न लागेका हुन् । उनीहरू बिहानै उठ्ने र नियमित व्यायामपछि पढाइमा लाग्ने गरेका छन् ।
भेरी नदीछेउ रहेको दशरथपुरमा बिहान अबेरसम्म हुस्सुले ढाक्छ । पुसको कठ्यांगि्रने जाडो छ । आकाश खुलेर मध्याह्नको पारिलो घाम देखिनासाथ माओवादी शिविरका लडाकु हातमा किताब र कापी लिएर चौरमा भेला भइहाल्छन्, औपचारिक शिक्षा लिन ।
जाजरकोटकी बिना बीसी दस कक्षाको पढाइ छाडेर माओवादी विद्रोहमा होमिएकी थिइन् । अहिले उनी एसएलसी परीक्षाको तयारीमा छिन् । गाउँमा पढ्ने वातावरण नभएपछि युद्धमा होमिएको उनले बताइन् । तर शिविरमा बसेर समायोजन र पुनस्र्थापन पर्खिरहँदा एसएलसी पास गर्ने बीसीले अठोट लिएकी छन् । माओवादी लडाकुको कम्पनी कमान्डर रहेकी बिनाले भनिन्, ‘पहिला क्रान्ति गर्नुपर्छ भन्ने थियो । अहिले अधुरो शिक्षा बल्ल पूरा गदर्ैैछांै । आखिर शिक्षा भनेको शिक्षै रहेछ ।’
एघार वर्षअघिको अधुरो पढाइलाई पूरा गर्ने तयारीमा जुटेकी बिनाको हातमा आजभोलि बन्दुक र बारुदको साटो कलम र कापी छ । उनी एसएलसी परीक्षा यो वर्ष पार गर्ने योजनामा छिन् । माओवादी लडाकुको शिविरस्थल दशरथपुरमा एसएलसीको तयारी गरिरहेका दैलेख डाँडापराजुलका रेशम हमाल सात वर्षदेखि अधुरो रहेको शिक्षा पूरा गर्ने तयारीमा छन् । एसएलसीको तयारी गरिरहेकै अवस्थामा बाबुको हत्या गरेपछि माओवादीमा लागेका रेशमले ब्यारेकमा बन्दुक कुरेर बस्नुभन्दा बौद्धिक क्षमताको विकास गर्नु राम्रो हुने भएकाले पढाइलाई निरन्तरता दिएको बताए ।
आफूसँगका साथीभाइले स्नातक तहसम्मको पढाइ सकी शिक्षण पेसामा लागेको हमालले बताए । ‘त्यति बेला परेको युद्धको प्रभावले पढाइ अधुरै रहन पुग्यो, अब त्यसलाई पूरा गर्ने वातावरण मिलेको छ,’ उनले भने । बुर्जुवा शिक्षा हासिल गर्न छाडी क्रान्तिका लागि बन्दुक बोकेर सशस्त्र द्वन्द्वमा होमिएका बिना र रमेश मात्र होइन, सुर्खेत दशरथपुरस्थित छैटौं डिभिजन अन्तर्गत जित, घोराही, पिली र पूर्णझरनाका गरी २ सय २१ लडाकु शान्ति स्थापनापछि अहिले एसएलसी परीक्षाको तयारीमा जुटेका छन् ।
सुर्खेत दशरथपुरस्थित छैटौं डिभिजनका लडाकुहरू आउँदो चैतमा हुने एसएलसी परीक्षाको तयारीमा जुटेका हुन् । जीटीजेडको विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत शिविरमा रहेका लडाकुलाई अध्ययन गराउन राखिएका प्रत्येक शिविरका ३/३ जना शिक्षक एसएलसी दिने लडाकुका लागि गणित, विज्ञान र अंग्रेजी विषयका सहयोगी भएका छन् ।
शिविरमा गणित विषय पढाउँदै आएका कमलराज पाण्डे पढ्नुपर्छ भन्ने जिज्ञासु भावनाका भएकाले विद्यार्थी पढाइमा सक्रिय भएको बताए । उनले लामो अन्तरालपछि पढ्न थाले पनि विद्यार्थीको प्रगति उत्साहजनक भएको बताए ।
Posted By:Dambar Rimal Source: ekantipur



