‘सूर्य चिह्न मेरो भन्न प्रचण्डलाई लाज हुँदैन’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आफूलाई कहाँबाट निष्कासित गरेको भनेर सोधेका छन् । शनिबार राजधानीमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न गरेका हुन् । ‘उहाँहरुले मलाई निकाल्नुभयो रे ! म सोध्न चाहन्छु, मलाई कहाँबाट निष्कासित गर्नुभयो, माइतीघर मण्डलाबाट ?’, ओलीले प्रश्न गर्दै भने ।
त्यस्तै ओलीले प्रचण्डले सूर्य चिह्न मेरो भन्न नमिल्ने बताए । यसो भन्न प्रचण्डलाई लाज हुनुपर्ने उनको भनाइ छ । ‘सूर्य चिह्न पाउँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज हुनुपर्दैन । प्रचण्ड सूर्य चिह्नमा कहिलै लडेका छन् चुनाव ? अर्कै चिह्नबाट चुनाव लडेकाले सूर्य चिह्न मेरै हो भन्न मिल्छ ?’, ओलीले भने ।
उनले यो भन्दा मजाक अर्को नहुने बताए । २०७४ को चुनावअघि एउटै चुनाव चिह्नमा लडौँ भन्दा नमानेका प्रचण्डले अहिले सूर्य चिह्न मेरो भनेको भन्दै आश्चर्य व्यक्त गरे ।
कार्की बैंकेटबाट माधवकुमार नेपाल अध्यक्ष भएको भन्दै उनले व्यङ्ग्य गरे । ‘कुन महाधिवेशनबाट माधव नेपाल अध्यक्ष भए ? कार्की बैंकेटमा कसले तपाईं अध्यक्ष बन्नुभयो भनिदिएछ , त्यसपछि अध्यक्ष रे !’, ओलीले भने, ‘यस्तो मजाकले राजनीतिक हाकिन्छ देशको ? यी पद लोलुप, रिमोटबाट चलेका तत्वको ध्वजी उडाउनुहोस् । उनीहरुबाट जनतालाई मुक्त गराउनुहोस् ।’ (अन्नपूर्ण )