कांग्रेसको निर्णयमा सत्ता साझेदार दल सशंकित

Date:

Share post:

‘स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णयले समस्या हुन सक्छ’
बबिता शर्मा
thumbकाठमाडौँ — ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्यान्वयन हुनेमा सत्ता साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलका नेताले शंका व्यक्त गरेका छन् । उनीहरूले गठबन्धनको बैठक तत्काल बसेर तालमेलको ढाँचासहितको रणनीतिमा छलफल गर्ने जनाएका छन् । पाँचदलीय गठबन्धनका नेताले आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक समझदारी गरेका थिए । तर कांग्रेसले केन्द्रबाट महानगरपालिका प्रमुख र उपप्रमुखका लागि मात्र तालमेल हुन सक्ने निर्णय गरेको छ ।‘कांग्रेसको निर्णयको वास्तविक मर्म, अभिप्राय के हो भनेर उहाँहरू (कांग्रेस) सँग छलफल गर्नुपर्ने हुन्छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । माओवादीको फागुन २२ मा बसेको केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा गठबन्धनका लागि सत्तासाझेदार दलसँग वार्ता थाल्ने र अन्य पार्टीसँग समन्वय गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले कांग्रेसको निर्णय व्यवहारमा कसरी लागू गर्ने भन्नेमा छिट्टै छलफल हुने बताए ।

‘स्थानीय आवश्यकताअनुसार जोसँग पनि गठबन्धन गर्न सकिने भनेर कांग्रेसको निर्णय आएको भए स्थिति अर्कै हुन्थ्यो । जहाँ तालमेल हुन्छ, गठबन्धनका दलसँग हुन्छ भन्ने निर्णय आएको बुझिन्छ । यो सकारात्मक कुरा हो तर स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णयले समस्या सिर्जना हुन पनि सक्छ,’ उनले भने, ‘अब गठबन्धनको बैठक बसेपछि मोडालिटी के हुने भन्नेबारे स्पष्ट होला ।’ एकीकृत समाजवादीले फागुन २७ मा केन्द्रीय कमिटी बैठकबाट ‘गठबन्धनमा रहेका सम्पूर्ण दलहरूसँग सहकार्य गरी लोकतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्यधिक स्थानमा निर्वाचित गराउन आग्रह’ गरेको थियो ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सबै दलले गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेको उल्लेख गर्दै अब स्थानीय आवश्यकताका आधारमा व्यवहारमा लागू हुने बताए । ‘व्यावहारिक हिसाबले स्थानीय स्थिति हेरेर स्थानीय तहबाटै तालमेलको निर्णय गर्नुपर्ने हुन्छ । एक्लै जित्ने ठाउँमा गठबन्धन गर्नुपरेन । मिलेर जित्नुपर्ने भयो भने दुई वा तीन दल मिल्ने हुन सक्छ । पाँचै दल मिल्ने पनि हुन सक्छ,’ उनले भने । फागुन अन्तिममा जसपा केन्द्रीय कार्यकारिणी समितिले आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको थियो ।

नेताहरूका अनुसार तालमेलको ढाँचालाई लिएर शीर्ष नेताबीच तीन प्रस्तावमा छलफल अगाडि बढेको छ । पहिलो, राष्ट्रिय सभाको चुनावमा जस्तै आ–आफ्नो सिट राखेर एमालेले जितेका ठाउँमा भागबन्डा गर्ने । दोस्रो, ५०–५० का आधारमा कांग्रेसलाई आधा र अन्य दललाई आधा उमेदवार भाग लगाउने ।

तेस्रो, स्थानीय तहमा पाएको मतका आधारमा जहाँ जसको धेरै मत छ उसैलाई प्रमुख, दोस्रो मत पाउनेलाई उपप्रमुखको उम्मेदवार दिने । यी प्रस्तावमा विस्तृत छलफल भने नभएको नेताहरूले जनाएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधान बचाउन गठबन्धनका दलको योगदान महत्त्वपूर्ण रहेको भन्दै स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने मत राख्दै आएका छन् ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...