काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसका पूराना नेता भीमबहादुर तामाङको शनिबार विहान नर्भिक अस्पतालमा निधन भएको छ । ७८ वर्षीया नेता तामाङको उपचारका क्रममा हृद्धयघातका कारण निधन भएको हो । बिहान घुमेर र्फकनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । एक्कासी स्वासप्रश्वास बढेपछि तामाङलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो ।
वि सं १९९० मा दोलखाको जफेमा जन्मेका तामाङ २००६ सालमा नेपाली कांग्रेसबाट नेपाली राजनीतिमा प्रवेश गरेका थिए । २०१४ सालमा उनले नेपाली कांग्रेसको सदस्यता लिएका थिए । सदाझैँ लामो समयसम्म प्रवास, जेल जीवन र पार्टीका विभिन्न तहमा रहेर काम गरेका थिए । उनी नेपाली राजनीतिमा आर्दश र निष्ठाको राजनीति गर्ने नेताको रुपमा परिचित रहेका थिए ।
नेपाली कांग्रेसको बाह्रौं महाधिवेसनमा सभापतिका उमेद्वार रहनुभएका तामाङले त्यसअघि कानुन तथा संसदीय व्यवस्था मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । आजीवन पार्टीका लागि त्याग गर्नुभएका तामाङ जति समय नेपाली राजनीतिमा सक्रिय रहे त्यो अवधिभर भौतिक सुख सुविधासमेत लिनुभएन ।
तामाङको निधनसँगै मुलुकले सिद्धान्तको राजनीतिक गर्ने असल नेता गुमाएको छ । तामाङलाई अस्पताल पुर्याएलगत्तै नेपाली कांग्रेसका सभापति, उपसभापति, वरिष्ठ नेतालगायतका नेता, कार्यकर्ता अस्पताल पुगेका थिए । अहिलेको राजनीतिक सत्ताको वरिपरि घुमिरहेको बेला आदर्शवान तामाङबाट नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले पाठ सिक्नुपर्ने हुन्छ ।
उनले जीवनभर एउटा सामान्य झोला बोकेर सादा जीवन उच्च विचार बोक्ने नेताका रुपमा आफूलाई प्रस्तुत गर्न सफल भएका थिए । पछिल्लो समयमा तामाङ पार्टी केन्द्रीय सदस्यका रुपमा कांग्रेसको राजनीतिमा क्रियाशील थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइरला र शेरबहादुर देउवासंगै सभापति पदमा चुनवा समेत लडेका थिए ।
नेपाली कांग्रेसले आफ्नो पार्टीका केन्द्रीय सदस्य तामाङको निधनमा भोलिदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले नेता तामाङप्रति श्रद्वाञ्जली अर्पणगर्दै तीन दिनसम्ममा कुनै पनि औपचारिक कार्यक्रम नगरी केन्द्रदेखि जिल्लाका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो ।
तामाङ्को शव आज पार्टी कार्यालयमा राखिनेछ भने भोलि मात्र दाहसंकार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।



