21.1 C
Kathmandu
Wednesday, July 9, 2025
spot_img

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्।

 

मन्त्रालयमा आज भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन्। मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापनाका लागि भारतसँग पहलसमेत गरेकी थिइन्।

 

भेटमा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो। त्यसैगरी मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्‍घाटनबारे पनि चासो राखेकी थिइन्।

उनीहरूबीच व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यस्तै जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति मन्त्री राणाले धन्यवाद दिएकी थिइन्। (स्रोत अन्नपूर्ण )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles