‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’
काठमाडौँ — कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । शेखरले पौडेललाई ‘तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु’ भनेका थिए । प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।’
पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए ।
बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए । प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन् । उनले सधैं गणेशमान सिंहको परिवारले त्याग गरेको उल्लेख गर्दै यसपटक कोइरालाले परिवारले त्याग गर्नुपर्ने पनि बताएका छन् ।
यतिबेला पौडेल समूहका सभापतिका आकांक्षीबाहेकका नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा जम्मा भएका छन् । शीर्ष नेताहरूबीच सहमति नभएमा हस्तक्षेप गर्ने युवा नेताहरूको भनाइ छ । उनीहरूले नेताहरूलाई विकल्पसहितको सुझाव दिने बताएका छन् ।(कान्तिपुर )