24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

गण्डकीमा संसद् विघटन प्रयास असफल

दीपक परियार
thumbपोखरा — नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी गर्न दिइएको समय सकिनुभन्दा आधा घण्टाअघि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा शनिबार गण्डकी प्रदेश प्रमुखको निवास प्रवेश गरे । जनमोर्चा संसदीय दलको नेता परिवर्तन नभएको पत्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई थमाए । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शनिबार पदभार ग्रहण गर्दै । तस्बिर : दीपक परियार/कान्तिपुर
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ सांसद उपस्थित भएर शुक्रबार मुख्यमन्त्री दाबी गरेका विपक्षीलाई थापाको कदमले झस्कायो । बहुमत दाबी गर्ने समय दिउँसो ३ बजेसम्म थियो । थापा प्रदेश प्रमुखलाई भेटेर बाहिरिएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी प्रस्तुत गरेको खुल्यो । गुरुङले तीन आधार प्रस्तुत गर्दै मुख्यमन्त्रीमा दाबी गरेका थिए । पहिलो– एमाले संसदीय दलको पत्र, दोस्रो– जनमोर्चाका थापाको पत्र र तेस्रो– जनता समाजवादी पार्टीका महन्थ ठाकुरको पत्र । एमालेका २७, जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) का २ गरी ३१ सांसद आफ्नो पक्षमा रहेको उनको दाबी थियो ।

जनमोर्चाले थापालाई कारबाही गरिसकेकाले शुक्रबारको प्रदेशसभा बैठकले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएको थियो । अघिल्लोपल्टको कारबाहीको मुद्दामा भने सर्वोच्च अदालतको अन्तरिम आदेशले उनको सांसद पद पुनर्बहाली भएको थियो । महन्थ पक्षधर सांसद नै नभएको गण्डकीमा जसपाका केन्द्रीय सदस्य शंकर गौतम र प्रदेश संयोजक अनिल परियारले प्रदेश प्रमुखसमक्ष आफ्ना सांसदको समर्थन गुरुङलाई रहेको पत्र बुझाएका थिए । स्वयं गौतमले उक्त पत्र पठाएको पुष्टि गरे । जबकि जसपाका दुई सांसद हरिशरण आचार्य र धनमाया लामाले शुक्रबारै विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेका थिए ।

विगतमा जस्तो फर्जी विज्ञप्ति जारी हुन सक्ने र अन्य षड्यन्त्र हुन सक्ने भन्दै कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २ र जसपाका २ सांसद शुक्रबारदेखि नै पोखराको एक रिसोर्टमा बसेका थिए । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि गठबन्धनलाई साथ दिएर सँगै थिए । मुख्यमन्त्रीमा गुरुङको दाबीले विपक्षी गठबन्धन सशंकित बन्यो । काठमाडौंमै जस्तो राजनीतिक दाउपेच गण्डकीमा दोहोरिएको र संसद् भंग गर्ने योजना भएको गठबन्धनले ठम्यायो । समयसीमा सकिएपछि पनि बोलावट नभएकाले ३१ सांसद नै प्रदेश प्रमुखको निवासमा भेला भए । धर्ना बसे । गठबन्धननिकट कार्यकर्ता केहीबेर प्रदर्शनमै उत्रिएर नाराबाजी गरे ।

झन्डै साढे दुई घण्टापछि प्रदेश प्रमुखले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको खबर बाहिरियो । साँझ ६ बजेतिर प्रदेश प्रमुखले नेपालीलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गरिन् । तोकिएको समय सीमाभित्र मुख्यमन्त्रीमा नेपालीको एक मात्र दाबी निवेदन दर्ता हुन आएकाले नियुक्त गरेको प्रदेश प्रमुखद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

कांग्रेसबाट पहिलोपल्ट नेपाली मुख्यमन्त्री बनेका हुन् । प्रदेशमा मुख्यमन्त्री परिवर्तन भएको गण्डकी पहिलो हो । नेकपाको फुटले नेपालीले मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् । उनी तेस्रो प्रयासमा मुख्यमन्त्री बनेका हुन् । यसअघि वैशाख २ मा उनलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी ४ दलको गठबन्धनले गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको थियो । वैशाख १५ मा मतदान हुने दिन सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् बैठक अन्त्य गरे । त्यसपछि मुख्यमन्त्री गुरुङको राजीनामा आयो । तीन दिनभित्र बहुमतसहित दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि पुनः नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनले चार दलको पत्र बुझाएको थियो । त्यतिबेलासमेत जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो दलको समर्थन गुरुङलाई रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएपछि पुनः गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका थिए । विपक्षीले बहुमत प्रस्तुत गरिसकेकाले गुरुङको सहज बहिर्गमन एमालेभित्रैका सांसदले चाहेका थिए । गुरुङले शनिबार दाबी प्रस्तुत गरेपछि उनकै पार्टीका सांसद रुष्ट बने । एमाले सांसद इन्द्रलाल सापकोटा, रोशनबहादुर गाहा थापा, मीनप्रसाद गुरुङ र महेन्द्र थकाली गुरुङलाई रोक्नुपर्ने निष्कर्षमा पुगे ।

उनीहरूको नेतृत्व माधव नेपालपक्षीय सांसद सापकोटाले गरे । उनले छलफल गरेको स्थलबाटै गुरुङलाई फोन गरेर विधिविपरीत गएर राजनीतिलाई नधमिल्याउन आग्रह गरे । प्रदेशसभा विघटनको खेल भएको खण्डमा पार्टीबाटै विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिए । ‘हामीले विश्वासको मतमा सहयोग गरेकै हौं, विश्वासको मत दिँदा गरेको हस्ताक्षर सबै कामका लागि ल्याप्चे होइन,’ उनले कान्तिपुरसँग भने, ‘कुनै हालतमा प्रदेशसभा विघटन हुनुहुँदैन भनेर उहाँको दाबीमा पूर्ण असहमति जाहेर गर्‍यौं ।’ त्यसपछि गुरुङ हच्किए । गुरुङले प्रदेश प्रमुख पौडेललाई फोन गरी संविधानअनुसार अगाडि बढ्न आग्रह गरे । त्यसपछि मात्रै प्रदेश प्रमुखले नेपालीलाई मुख्यमन्त्री नियुक्तिको निर्णय गरेकी हुन् । गुरुङले शनिबार नै नेपालीलाई फोन गरी मुख्यमन्त्री नियुक्त भएकामा बधाईसमेत दिए ।

नवनियुक्त मुख्यमन्त्री र ४ मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार राति पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् । शपथ लिनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरूमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरूले बिनाविभागीय रूपमा शपथ लिएका हुन् । मनाङे यसअघिको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए ।

मुख्यमन्त्री नियुक्तपछि नेपालीले संविधानले निर्दिष्ट गरेको बाटोमा अगाडि बढेको भन्दै प्रदेश प्रमुखलाई धन्यवाद दिए । उनले प्रदेशवासीको हकहितका लागि सदैव प्रयत्नशील रहने भन्दै पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप नै हुने बताए । मुख्यमन्त्री नेपालीले पदभार ग्रहण गर्दै विपद् प्रतिकार्य योजना बनाउने र महिलाको स्तन, पाठेघरको मुख र पाठेघर क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles