चितवन महाधिवेशनले दिन खोजेको ५ सन्देश

Date:

Share post:

महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म हुने अधिवेशनमा नेता–कार्यकर्तामात्र होइन, आमजनतालाई सहभागी गराएर एमालेले आफ्नो राजनीतिक सन्देश तल्लो तहसम्म पुर्‍याउन खोजेको छ
गंगा बीसी
thumbकाठमाडौँ — सत्ता बहिर्गमन र पार्टी विभाजनपछि हुन लागेको एमालेको १० औं महाधिवेशनले मुख्य रूपमा पाँच वटा सन्देश दिन खोजेको छ । महाधिवेशनको मुख्य काम नेतृत्व चयन भए पनि विभाजन भएको पार्टीलाई गति दिँदै राष्ट्रिय चुनौती सामना गर्न सक्षम रहेको सन्देश उसले दिन खोजेको छ । चितवन नारायणी किनारमा हुन लागेको महाधिवेशनले एमाले कमजोर भएको छैन भन्ने पहिलो सन्देश दिने प्रयास गर्नेछ । उद्घाटन सत्रका लागि एमालेले पाँच लाख व्यक्ति चितवनमा उतार्ने दाबी गरेको छ । यसको तयारीका लागि उसले महाधिवेशन उद्घाटनमा सहभागी हुन चितवनमा घरघरै निम्ता पठाएको छ । पार्टी समर्थकबाहेक अरूलाई पनि उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरेको उसले जनाएको छ । एमालेबाट माधवकुमार नेपाल समूहबिना यो महाधिवेशनमा नारायणी किनारमा ‘जनसागर’ उराल्ने एमालेको तयारी छ ।

पार्टीले सामाजिक सञ्जाल, दैनिक बुलेटिन र सञ्चारमाध्यममा विज्ञापनमार्फत चितवन जान आह्वान गरेको छ । सामाजिक सञ्जाल र मोबाइल रिङब्याक टोनमा पनि मंसिर १० मा चितवन जान आग्रह गरिएका सन्देश राखिएका छन् । महाधिवेशन भव्य बनाउन एमालेले ‘धन–जन’ को व्यापक प्रयोग गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनसम्म आइपुग्दा सबै घेरा तोड्न सक्षम रहेको सन्देश दिएको बताए । ‘पार्टी विभाजित गर्ने, सरकारबाट विस्थापित गर्ने र घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने, ‘त्यो घेरालाई तोडेर राष्ट्रिय राजनीतिको सशक्त शक्तिका रूपमा स्थापित हुन सक्षम रहेको र कार्यकर्ताको विश्वास सुदृढ रहेको सन्देश यो महाधिवेशनले दिनेछ ।’

महाधिवेशनको दोस्रो सन्देश हो– एकताको भावना समृद्ध गर्नु । विभाजन भए पनि पार्टीभित्र एकताको भावना आउने गरी महाधिवेशन गर्ने अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । त्यो सन्देश दिन उनले नेतृत्व सकेसम्म ‘सर्वसम्मत’ गराउने तयारी गरेका छन् । महाधिवेशनमा स्थानीय तहबाट अधिकांश जनप्रतिनिधि सर्वसम्मत भएर आएका छन् । अर्को, पूर्वमाओवादी र अन्य पार्टीबाट आएका नेताहरूलाई रणनीतिक रूपमा सम्मानजनक समायोजन गर्ने ओलीको तयारी छ । पूर्वमाओवादीबाट आएका नेताहरू रामबहादुर थापा, लेखराज भट्टलगायतलाई उनले पुराना एमाले नेतालाई ‘साइजमा ल्याएर’ राम्रै अवसर दिने तयारी गरेका छन् । ‘विभाजनपछि पनि पार्टी एक छ’ भन्ने सन्देश दिने प्रयास महाधिवेशनबाट हुँदै छ । एमालेले यसलाई एकताको महाधिवेशन भनेको छ ।

‘गत असोजमा विधान महाधिवेशन सम्पन्न गर्‍यौं, पार्टीका सबै दस्ताबेज सर्वसम्मतिबाट पारित भए, विचारको महाधिवेशनमा एकता यसअघि नै कायम गरिसकेका छौं, पार्टीभित्रका तीन भिन्न मनोविज्ञानलाई समेटेर अघि बढेका छौं,’ ज्ञवालीले भने, ‘महाधिवेशनपछि एउटै साझा मनोविज्ञान बन्नेछ । एमालेको नेतृत्वसँग जोडिएका, फागुन २३ पछि प्रचण्डले पार्टी अलग गरेर जानु भए पनि एकता प्रक्रियामा रहनुभएका पूर्वमाओवादी कमरेडको मनोविज्ञान र १० बुँदे प्रस्तावअनुसार मूलधारमा फर्कनुभएका कमरेडहरूको मनोविज्ञानलाई एक सूत्रमा बाँधेर पार्टी एकतालाई सुदृढ गरिनेछ ।’

एमालेले महाधिवेशनलाई विशेष गरी नेतृत्व चयन गरेर आगामी निर्वाचनमा केन्द्रित भएको तेस्रो सन्देश दिएको छ । ‘असार २८ मा सर्वोच्चको परमादेशपछि सहउत्पादनले राष्ट्रिय राजनीतिलाई नराम्ररी गिजोल्न थालेको छ । संविधान, लोकतन्त्र, राजनीतिक मूल्य मान्यता क्षतविक्षत हुन थालेका छन्,’ उनले भने, ‘त्यसको रक्षाका लागि पार्टी दृढतापूर्वक अघि बढ्नेछ र आगामी निर्वाचनमा बहुमत प्राप्त पहिलो शक्ति बन्नेछ भन्ने सन्देश दिनु हो ।’ गत विधान महाधिवेशन र यो महाधिवेशनमा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई प्रमुखतासाथ उठाएको छ ।

नीति (विधान) र नेतृत्व महाधिवेशन फरक मितिमा गरेर एमालेले नयाँ अभ्यास थालेको चौथो सन्देश दिएको छ । नीति र नेतृत्व महाधिवेशन एकैपटक हुने परम्परालाई तोडेर उसले देशव्यापी रूपमा नीति र नेतृत्व स्थापित गर्न खोजेको छ । वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रमा नेतृत्व चयन गरी देशव्यापी रूपमा राजनीतिक सञ्चार दिनु यो महाधिवेशनको उद्देश्य देखिन्छ । महाधिवेशनको मेसो पारेर एमालेले वैशाखमा हुने स्थानीय निर्वाचन र त्यसपछि मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको तयारी सुरु गरेको छ । ‘महाधिवेशनपछि पार्टी विघ्नबाधा तोडेर, लक्ष्यमा एकाग्र भएर अघि बढ्नेछ किनभने यसअघि पार्टी जीवनमा लामो समयसम्म अस्वस्थता रहे, बैठक विवादको थलो जस्तो भएको थियो, अधिवेशन गुटको थलो भएको थियो,’ ज्ञवालीले थपे, ‘अब एकताको सन्देश दिनेछ, विवादको थलो हुने छैन ।’

महाधिवेशनको पाँचौं सन्देश नेपालमा खास कम्युनिस्ट पार्टी एमाले नै भएको सन्देश दिनु हो । नेकपा विभाजनपछि अलग्गिएको माओवादी र एमालेबाट अलग भएको एकीकृत समाजवादीलाई प्रहार गर्दै खास कम्युनिस्ट पार्टी बन्ने उद्देश्य महाधिवेशनले राखेको छ । अध्यक्ष ओलीले कार्यकर्तालाई सन्देश दिँदै भनेका छन्, ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतामाथि निर्णायक विजय हासिल गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न महाधिवेशनमा आमन्त्रण गर्दछु ।’

आवश्यक परेका बेला पार्टी पंक्ति र जनपरिचालन गर्न सक्ने क्षमता एमालेसँग भएको दाबी गर्नु एमालेको उद्देश्य हो । महाधिवेशनका लागि वडादेखि केन्द्रसम्म हुने अधिवेशनमा नेता–कार्यकर्ता मात्र होइन, आमजनतालाई सहभागी गराएर एमालेले आफ्नो राजनीतिक सन्देशलाई तल्लो तहसम्म पुर्‍याउन खोजेको छ । महाधिवेशनको मौका पारेर एमालेले सबै प्रकारका जनपरिचालन गरेको छ । त्यसको केन्द्रीकृत रूपमा चितवनमा महाधिवेशन गर्दै छ । यसअघि असोज तेस्रो साता गोदावरीमा विधान महाधिवेशन गरी पार्टी पंक्ति र जनपरिचालनको पहिलो चरणको अभ्यास गरिसकेको छ ।

मुख्य नेतृत्वमा प्रतिस्पर्धा नभए पनि एमालेले पूर्ण लोकतान्त्रिक पार्टी भएको सन्देश अन्तर्राष्ट्रिय निकायलाई दिन चाहेको छ । पछिल्लो समय एमालेका राजनीतिक दस्ताबेजमा पार्टी पहिलेभन्दा ‘कट्टर कम्युनिस्ट’ भएको अर्थ लाग्ने वाक्य समावेश छन् । ती माओवादी कार्यकर्ता आफूतिर तान्न प्रयोग भएका हुन् । एमाले विदेश विभाग उप्रमुख विष्णु रिजालले महाधिवेशनले एमाले पूर्ण लोकतान्त्रिक पार्टी भएको सन्देश दिने बताए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...