चितवन मेडिकल कलेजले गर्‍यो पहिलोपटक कलेजो प्रत्यारोपण

Date:

Share post:

रमेशकुमार पौडेल
चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् ।

‘धनकुमारीको कलेजो काम गर्न नसक्ने गरेर बिग्रिएको थियो । त्यसैले प्रत्यारोपणको विकल्प थिएन,’ सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले भने । पुरानो ठेगाना भरतपुर भए पनि धनकुमारीको परिवार लामो समयदेखि काठमाडौंमा बस्दै आएको थियो । पाँच महिनाअघि समस्या देखिएपछि अस्पताल लैजाँदा कलेजो नराम्ररी बिग्रेको पत्ता लागेको धनकुमारीका श्रीमान् रनबहादुर तमाङले बताए ।

‘त्यसपछि कलेजो नै प्रत्यारोपण गर्नुपर्छ भनेपछि के गर्ने कसो गर्ने भन्ने भयो । विदेश लैजान सक्ने अवस्था थिएन । काठमाडौंमै गर्ने कि भन्ने विचार भइरहेका बेलामा भरतपुरमै सेवा पाइन्छ भनेपछि यतै आएको हो,’ रनबहादुरले भने । कलेजो दिने दाता खोजी गर्दा छोरी नै अग्रसर भएको उनले बताए । प्रत्यारोपणपछि आमाछोरी दुवैको अवस्था सामान्य हुँदै गएको हुँदा खुसी लागेको रनबहादुरले सुनाए । नेपालमा ५ वर्षअघि कलेजो प्रत्यरोपणको सेवा सुरुवात भएको हो ।

‘उपत्यकाका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रपछि तेस्रो अस्पताल हाम्रोमा कलेजो प्रत्यारोपण भएको छ । मेरो जानकारीमा रहे अनुसार हामीले गरेकोसहित नेपालमा भएको यो आठौं प्रत्यारोपण हो,’ सीएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.न्यौपानेले भने । सिएमसीले ७६ सालको वैशाखमा कलेजो प्रत्यारोपणका लागि स्वीकृति लिएको उनले बताए ।

कलेजो प्रत्यारोपणको खर्च २५ लाख रुपैयाँ लाग्ने उनले बताए । विदेशमा योभन्दा धेरै रहेको छ । नेपालीलाई विदेश जाँदा अन्य झन्झट र खर्च बढ्ने अवस्था पनि छ । प्रत्यारोपणमा संलग्न चिकित्सक डा.सञ्जयकुमार यादवले १८ वर्षदेखि ५० वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिले अरुलाई कलेजो दिन सक्ने बताए । कलेजो लिने दिनेबीच रक्त समूह मिल्नु पर्दछ । पारिवारिक सदस्यबाट मात्रै कलेजो दिन पाइने कानुनी व्यवस्था पनि छ ।

‘कलेजोले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नु पर्दछ । दिने व्यक्ति तयार भएपछि उसको शरीरको कलेजोको निश्चित भाग काटेर आवश्यक पर्ने व्यक्तिको शरीरमा राख्छौं । कलेजो आफै विकसित हुने अंग हो । प्रत्यारोपण गरेको दुई महिनाभित्र कलेजो आफै विकसित हुन्छ । प्रत्यारोपण गरेको व्यक्तिले पहिलाकोझैं जीवन पाउँछ,’ डा.यादवले भने । कलेजो प्रत्यारोपण गर्न झन्डै १२ घण्टा लगातार शल्यक्रिया गर्नु परेको थियो ।

प्रत्यारोपणपछि कलेजो दिने व्यक्ति एक हप्तासम्म र लिने व्यक्ति दुई हप्तासम्म अस्पतालमा बस्नु पर्दछ । प्रत्यारोपणमा नेपाली चिकित्सकका साथै भारतको एपोलो अस्पतालका तीनजना चिकित्सकहरु पनि संलग्न थिए । १० वटा प्रत्यारोपणपछि नेपाली चिकित्सक मात्रैले यो सेवा सञ्चालन गर्ने डा. हरिशचन्द्र न्यौपानेले बताए । यसैगरी सरकारी सहुलियत उपलब्ध भए १५ लाख रुपैयाँमा नै सेवा दिन सक्ने उनको भनाइ छ ।

‘प्रत्यारोपणका लागि हामीसँग सुविधा सम्पन्न पूर्वाधारहरु छन् । चिकित्सक र अन्य प्राविधिक तथा नर्सहरु पनि त्यही अनुरुपका सक्षम छन् । तर केही प्रत्यारोपणहरु हामी भारतीय विज्ञहरुकै संलग्नतामा गर्ने छौं,’ प्रा.डा.न्यौपानेले भने । पहिलो प्रत्यारोपणमा अस्पतालका विशेषज्ञ चिकित्सकहरु सर्जन डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. प्रविन जोशी, डा. जयन्तकुमार साह, डा. अभिषेक भट्टराई, एनेस्थेसियोलोजिस्ट डा. किरण अधिकारी, डा.सुरेश गौतम, डा.नविन यादव, डा. सागर पौडेल र डा. वरुण श्रेष्ठ खटेका थिए ।

त्यसैगरी टिमका अन्य सदस्यहरुमा रेडियोलोजिस्ट डा. विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रुति यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापा मगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा रहेका थिए । एपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार र डा. सञ्जिव अनिजा रहेका थिए । डा. सागर पौडेलका अनुसार सिएमसीको शिक्षण अस्पतालको ओपीडीमा कलेजोका दैनिक ३० जना जति बिरामी आउँछन् ।

तीमध्ये २० प्रतिशतलाई प्रत्यारोपण सेवा आवश्यक देखिने डा. पौडेलले बताए । शरीरमा भएको कलेजको ५० देखि ६० प्रतिशत भाग बिग्रेपछि मात्रै लक्षण देखिन्छ । त्यसैले कलेजो धेरै मात्रामा बिग्रेपछि अस्पताल आउने गर्दछन् । नेपालबाट हाल वर्षमा ६० जना जति बिरामी कलेजो प्रत्यारोपणका लागि विदेश जाने गरेको डा.हरिशचन्द्र न्यौपानेले बताए । त्यसैले देशभित्रै सहज सुविधा उपलब्ध भए सेवा लिनेहरु बढ्ने उनको भनाइ छ ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...