ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त, कप्तानमा सन्दीप

Date:

Share post:

कुशल तिमल्सिना
thumbकाठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको जिम्मेबारी खोसेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका चार खेलाडीलाई कारबाही गर्ने निर्णय गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल संयोजकत्वको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिको सिफारिसअनुसार बैठकले उक्त निर्णय गरेको हो । पछिल्लो समय क्यान र कप्तान/ उपकप्तानसहित राष्ट्रिय क्रिकेट खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो । बैठकले ज्ञानेन्द्र र दीपेन्द्रको पदीय जिम्मेबारी खोसेको छ भने उनीहरूसहित टोलीका सिनियर सदस्य सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सुरुआती ६ महिनाका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय अनुबन्धन) मा सहभागी नगराउने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय टोलीको नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दै छ । त्यसका लागि आउँदो मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

बैठकले नेपाल प्रशिक्षक संघलाई मान्यता प्रदान गरेको छ भने पूर्वउपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।

किन गरियो कारबाही ?

क्यानको सेन्ट्रल कन्ट्र्याक्टप्रति आपत्ति जनाउँदै खेलाडीहरू सार्वजनिक रूपमा बोर्डविरुद्ध उत्रिएपछि असन्तुष्ट बनेको क्यानले कार्यबाहक सचिव मल्लको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिले दुईपल्टसम्म खेलाडीसँग स्पष्टीकरण सोधेको थियो । तर खेलाडीले आफ्नो जवाफ फर्काउँदै उल्टै क्यानमाथि प्रश्न उठाएर यति दिनभित्र प्रस्टीकरण चाहिने भन्दै समयसीमा तोकेका थिए । दुवैपल्ट चित्तबुझ्दो जवाफ नआएको क्यानले जनाएको छ ।

खेलाडीहरूको माग सार्वजनिक नभए पनि उनीहरूले सेन्ट्रल कन्ट्र्याक्टमा पर्याप्त खेलाडी समावेश नभएको, वर्गीकरणमा परेका खेलाडीमाथि पनि अन्याय भएको जस्ता आरोप क्यानमाथि लगाएका थिए ।

त्यसमा राष्ट्रिय टोलीका सिनियर सदस्य सोमपाल कामीलाई ‘ए’ ग्रेडमा नराखिएको, रोहित पौडेललाई ‘बी’ ग्रेडमा नराखिएको र कन्ट्र्याक्टमा २० खेलाडीको सट्टा १८ खेलाडीमात्र राखिएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । बोर्डमा राख्नुपर्ने विषयलाई खेलाडीहरूले मिडियाबाजी गरेको क्यानको आरोप छ । तर, सेन्ट्रल कन्ट्र्याक्टका लागि बनाइएको मापदण्डअनुसार नै खेलाडीको वर्गीकरण गरिएको क्यानको दाबी छ ।

नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट

परिषद् (आईसीसी) ले ससर्त निलम्बन फिर्ता लिएकै भोलिपल्ट २०७५ कात्तिकमा पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि दुई वर्ष ज्ञानेन्द्रले कप्तानी सम्हाले अवसर पाएका थिए । यसबीचमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक जितेको थियो ।

क्यानले चार खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा समावेश नगर्ने निर्णय गरे पनि उनीहरूले राष्ट्रिय टोलीबाट खेल्न पाउने/नपाउनेबारे खुलाएको छैन । यदि खेल्न नपाउने हो भने नेपालले फेब्रुअरीमा ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्ने कार्यतालिका रहेकोमा उनीहरूको अनुपस्थितिले अप्ठेरो पर्न सक्छ ।

सन्दीपको संयोग

सन्दीप लामिछानेले पहिलोपल्ट नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेबारी पाएसँगै एउटा संयोग परेको छ । २१ वर्षीय सन्दीप कप्तान रहने नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले सम्हाल्ने छन् । सन्दीप तिनै खेलाडी हुन्, जसलाई पुबुदुले नै पहिचान गरी सन् २०१५ मा चितवनबाट काठमाडौं ल्याएका थिए । त्यसयता सन्दीपको करिअरको ग्राफ उकालो लागेको लाग्यै छ ।

पुबुदुलाई राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा दोस्रो कार्यकाल अनुबन्ध गर्ने निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो सातामात्र गरेको थियो । यसअघि उनी सन् २०११ देखि २०१५ सम्म प्रशिक्षकको जिम्मेबारीमा थिए । उनको कार्यकालमा नेपालले डिभिजन ४ देखि १ सम्मको यात्रा तय गरेको थियो भने सन् २०१४ को ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

पुबुदुको बहिर्गमनपछि अर्थात् सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेलबाट सन्दीपले सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनी नेपालको स्पिन आक्रमणको मुख्य हतियार हुन् ।

उनी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (४१ खेल) र ट्वान्टी–२० अन्तर्राष्ट्रिय (४७) मा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् । ट्वान्टी–२० मा पनि उनले सर्वाधिक १ सय ४० विकेट लिएका छन् । सन्दीप सन् २०१७ यता नेपालको ग्लोबल स्टारका रूपमा परिचित छन् । त्यसयता उनले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका अधिकांश फ्रेन्चाइज लिग क्रिकेट खेलेका छन् । हाल उनी अस्ट्रेलियाको घरेलु क्रिकेट लिग बिग बासमा होबार्ट हरिकेन्सबाट खेलिरहेका छन् ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...