
शंकर विरही गुरुङ/पोखरा,
२९ जेठ ।तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा एक कार्यक्रमको आयोजना गरि अग्रभागमा रही कोरोना कहरको बेला दिनरात नभनी सेवामा खटिने सुरक्षाकर्मीहरुको लागी मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरेको छ । तमु प्ये ल्हु संघ, केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमु र वरिष्ठ उपाध्यक्ष आई बहादुर ल्हेंगे तमु र जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको विशेष उपस्थितिमा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितीका अध्यक्ष शुक्रराज सरब्ज तमुले जिल्ला प्रहरी कार्यालय, कास्कीको प्रबन्ध शाखालाई १ हजार थान मास्क, १ हजार थान पञ्जा र २५ लिटर स्यानिटाइजर हस्तान्तरण गर्नुभएको हो ।

पुर्वनिर्धारित कार्यक्रम अनुसार वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगरमा पुगि सो कार्यालयमा समेत मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गर्ने कार्यक्रम रहेपनि प्रहरी उपरीक्षक दान बहादुर कार्कीको विशेष सल्लाह अनुसार सबै सामाग्री जिल्ला प्रहरी कार्यालय, कास्कीलाई नै प्रदान गरिएको हो । कार्यक्रममा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिका पदाधिकारी, सदस्यहरु र तमु संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियोे । वितरित सम्पुर्ण सामग्रीहरु नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर, पोखरा-१७ का डाइरेक्टर डा. मन बहादुर गुरुङले अत्यन्तै सुपथ मुल्यमा तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिलाई उपलब्ध गराउनु भएको हो ।यसपुर्व तमु प्ये ल्हु संघ, केन्द्रीय समितिको तर्फबाट गण्डकी प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु. १ लाख ३५ हजार र पोखरा महानगरपालिकालाई रु. ७५ हजार हस्तान्तरण गरिसकेको छ ।