अभिनेत्री भएपछि जस्तो भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ । छोटा पहिरन लगाउनुपर्छ । उत्तेजक नृत्यमा पनि देखिनुपर्ने हुन्छ । ७० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री झरना थापाले फिल्म क्षेत्रमा १४ वर्ष बिताइसकिन् । श्रीमान् सुनीलकुमार थापा फिल्म निर्माता भएकाले आफूलाई यस क्षेत्रमा टिकिरहन सजिलो भएको उनको विश्वास छ । थापा भन्छिन्, म अभिनय क्षमताले यो क्षेत्रमा टिकेकी हुँ ।
बितेको एक दसकले मलाई दर्शकमाझ स्तरीय नायिकाको चिनारी दियो । मेरा श्रीमान् फिल्म निर्माता भएकाले मलाई फिल्ममा काम गर्न निकै स्वतन्त्रता छ । मैले अभिनय गरेको पाँच फिल्म घरकै प्रोडक्सनमा बनेका हुन् । भर्खरै मात्र प्रदर्शित ‘स्वाभिमान’, ‘बिदाइ’ र ‘तिमी मात्र तिमी’ घरैका फिल्म हुन् । आफू निर्मात्री हुँदा निकै रमाइलो अनुभूति हुँदो रहेछ । हुन त मालिक हुन पाउँदा रमाइलो जसलाई पनि लाग्छ ।
मैले फिल्मी करिअरमा धेरैखाले भूमिका गरेकी छु । बढी त आमनेपाली नारीको प्रतिनिधित्व गर्ने रोनाधोनाका भूमिका गरेँ । मैले ‘तिमी मात्र तिमी’मा एउटी बहिरी केटीको भूमिका निर्वाह गरेकी थिएँ । त्यसभन्दा पहिले ‘ए मेरो हजुर’ फिल्ममा दृष्टिविहीन युवतीको भूमिकामा थिएँ । ‘संसार आफ्नै’ फिल्ममा पागलको भूमिका गरेँ । एकदमै साइको टाइपको केटी । यो फिल्म हेरेर मेरी सानी छोरी पनि अवाक् बनेकी थिई । धेरैखाले भूमिकामा आफूलाई प्रस्तुत गरिसकेकीले वेला-वेला सोचिबस्छु- मैले आफ्नो भूमिकामा न्याय गर्न सकेँ कि सकिनँ ? सधैँ यस्तो लाग्छ- आफूलाई नयाँ-नयाँ चरित्रमा प्रस्तुत गरूँ । तर, चाहेजस्तो गर्न नसकिने रहेछ । धेरैखाले भूमिका गरेकोमा दृष्टिविहीन, पागल र बहिराको भूमिकामा आफूलाई क्यामराअघि उभ्याउन निकै गाह्रो भएको थियो । वेला-वेला भावुक पनि भइने रहेछ । वास्तविक जीवनमै हामीले पागल, दृष्टिविहीन वा बहिरा भएर बस्नुपर्यो भने के होला भन्ने सोच्दा जिउ सिरिङ हुन्छ । अभिनय गर्दा जुन चरित्र छ, त्यसमा राम्रैसँग डुब्न सक्छु भन्ने विश्वास छ म भित्र ।
मान्छेको हाउभाउ र चरित्रको हिसाबले बहिराको भूमिका निर्वाह गर्न सबैभन्दा गाह्रो भएको थियो । खासमा यो भूमिका मेरा लागि निकै चुनौतीपूर्ण पनि थियो । बहिराहरूको दुनियाँ कस्तो होला ? उनीहरू कस्ता सपना देख्छन् होला ? मलाई धेरै जिज्ञासा थियो । उनीहरूको सांकेतिक कुरा, प्रस्तुत गर्ने हाउभाउ-व्यवहार बुझ्न निकै गाह्रो थियो । फिल्ममा अभिनय गर्नैका लागि मैले तीन महिना त बहिराहरूको संगत गरेकी थिएँ । त्यसवेला मलाई लागेको के भने, अरूसँग कुरा गर्न, बुझ्न उनीहरूलाई निकै कठिन भए पनि आफूभित्रै उनीहरू धेरै सन्तुष्ट र खुसी हुँदा रहेछन् । आफ्नो त्यो संसारमै उनीहरू खुसी छन् ।
रमाइलो एउटा घटना के भने, मैले संगत गरेकामध्ये एकजना बहिराले ‘म तपाईंलाई बिहे गर्छु, हामी विदेश गएर सुखसाथ बसौँला’ पनि भने । मैले ‘मेरो त उहिल्यै बिहे भएको, सानी छोरी छिन्,’ भनें । तर, उनले आफ्नो जिद्दि छाडेनन्, बल्ल-बल्ल सम्झाएँ उनलाई । उनीहरू पनि कान सुन्नेहरूभन्दा फरकचाहिँ नहुने रहेछन् जस्तो लाग्यो । रमाइलो के लाग्यो भने बहिरा केटीको भूमिकामा मलाई खुबै सुहाएको थियो । धेरै आफन्त, फिल्मकर्मी, दर्शकको प्रतिक्रियाबाट म हौसिएँ । सबैले धेरै राम्रोसँग भूमिका निर्वाह गरेकी छौ, भने ।
म एउटी छोरीकी आमा हुँ । धेरैले ‘ग्ल्यामरस ममी’ भन्छन् मलाई । पर्दामा त एउटी अभिनेत्रीले जस्तो भूमिका पनि निर्वाह गनुपर्ने हुन्छ । छोटा पहिरन लगाउनुपर्छ अनि उत्तेजक नृत्यमा देखिनुपर्ने हुन्छ । धेरैले सोध्छन्- छोरी भइसकेर पनि नृत्यमा छोटो लुगामा नाच्दा अप्ठ्यारो लाग्दैन ? मलाई मेरो परिवारबाट फिल्म खेल्न एकदमै सपोर्ट छ । पहिले-पहिले हाफप्यान्ट, स्कर्टजस्ता लुगामा पर्दामा झुल्किँदा धेरै उत्ताउलो भयो, भनेर कमेन्ट गरेका थिए । एकपटक मैले रेडियोमा अन्तर्वार्ता दिएकी थिएँ । त्यसवेला मलाई यस्तै प्रश्न सोधिएको थियो । मेरो ससुराले त्यो अन्तर्वार्ता सुनिरहनु भएको रहेछ । म घर आएपछि ससुराले अभिनय गरेको वेला कोही कसैको आमा, श्रीमती वा बुहारी हुँदैन, आफ्नो हिसाबले काम गर्नु, भन्नुभयो । मलाई विश्वास छ, मैले दर्शकले ‘छि’ भन्नेखाले पहिरन लगाएकी छैन । परिवारसँग बसेर फिल्म हेर्नै नमिल्ने पहिरनचाहिँ लगाएको छैन । मलाई गुलाबी रंगको लुगा खुबै सुहाउँछ गुलाबी रंगको साडी लगाउन पनि मन पर्छ ।
मेरो लगनशीलता, मिहिनेतका कारण दर्शकले रुचाइरहेका छन् भन्ने ठान्छु । अहिलेसम्म निर्देशक/निर्माताहरूले मेरो अभिनयको क्षमता हेरेरै काम दिइरहेका छन् । नयाँ कलाकारसँग डर कहिल्यै लागेन । आफ्नो ‘लेबल’ बनाइसकेकी छु भन्ने लाग्छ । आफूसँग क्षमता भएपछि फिल्ममा टिक्न गाह्रो नहुने रहेछ । धेरै दर्शकले ‘नायिकाहरू अंगप्रदर्शन वा ग्ल्यामरको प्रतिस्पर्धा गर्छन्,’ भन्छन् । तर, ग्ल्यामरको प्रतिस्पर्धा गर्नुपर्छ जस्तो लाग्दैन । प्रतिस्पर्धा त अभिनयको पो गर्ने त । हुन त मैले धेरै देखेकी छु धेरै अंगप्रदर्शन गर्ने हिरोइन र मोडल । ग्ल्यामरको पनि प्रतिस्पर्धा हुन्छ र कहीँ ? मेरो यो दसक लामो अनुभवले के भन्छ भने अंगप्रर्दशनको भरमा मात्रै टिक्न खोज्नेहरू छिट्टै बिलाउँछन् फिल्मबाट । नग्नताकै मात्र भरमा त को टिक्न सक्छ र ? अभिनय क्षमता पनि त चाहियो नि । दर्शकलाई प्रभाव पार्ने वा मन जित्ने अभिनयबाटै हो ।
हाम्रा धेरै फिल्म बलिउडबाट प्रभावित छन् । कुनै फिल्ममा त सर्ट पनि हुबुहु हिन्दी फिल्मकै जस्तो उतारिएको हुन्छ । राम्रा कुराको कपी गर्नु नराम्रो त होइन । तर, फिल्ममा आफ्नै मौलिकता र आफ्नै पहिचान दिने हो भने हाम्रो संस्कृतिलाई माथि उठाउन निकै सहयोग गर्थ्यो । मेरो बिहे भएको ११ वर्ष भयो प्रेम-विवाह हो । श्रीमान् नै निर्माता भएर होला निकै रमाइलो लाग्छ, फिल्म दुनियाँ । हाम्रो आफ्नै प्रोडक्सनमा ‘साथीविना’ फिल्म आउँदैछ । खासमा ‘फिल्म मेकिङ’ के हो भनेर जान्न धेरै सजिलो भयो । आफूलाई मन लागेको विषयमा फिल्म बनाउन सजिलो हुने रहेछ ।
म भावुक स्वभावकी छु । तर, छुच्ची छैन कि भन्ने लाग्छ । श्रीमान्सँग कहिलेकाहीँ सामान्य झगडा परिहाल्छ, हल्का झगडा पनि भएन भने रमाइलै आउँदैन नि जिन्दगीमा । जीवन नै आँसु र हाँसोको स्टेसन रहेछ । मेरी छोरी ‘सुहाना’ १० वर्षकी भई, मेरो फिल्मको फ्यान हो छोरी । उसका साथीहरूसँग मेरो फिल्मको कुरा गरेर खुसी हुन्छे । म खासै डि्रङ्क्स गर्दिनँ । कहिलेकाहीँ श्रीमान्सँग बसेर वाइनचाहिँ पिउँछु । मलाई अफ ट्रयाक फिल्म खेल्न मन लागेको छ । आर्ट मुभी पाएँ भने खुसी भएर गर्छु । तर, त्यस्तो फिल्म पाएको छैन म सरल छु, तर सजिलोचाहिँ छैन ।
Posted by: Jay Ale (Collection: Dharma Raj Giri)



