काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रकाश सपुतको गीत ‘पlर’मा विरोध गर्नुपर्ने कुरा नरहेको बताएका छन् । उनले प्रकाश सपुत सिर्जनशील कलाकार रहेको तर उनले गीतलाई गहिरो विषय छनोट गरेको बताएका छन् । उनले गीतलाई एकै ढंगबाट व्याख्या गरिनु नहुने पनि बताए । धनगढी विमानस्थलमा सोमबार पत्रकारहरूसँग बोल्दै अध्यक्ष दाहालले भने, ‘गीतकै कारण उत्तेजित हुन पर्दैन । पक्ष/विपक्ष हुन सक्छ । यसलाई सहज रुपमा हेर्नुपर्छ ।’ कलाकार र सर्जकहरुले आफ्नो दृष्टिकोण अनुसार विभिन्न रचना गरेको हुने भन्दै उनले सपुतको गीतले एउटा विचारको प्रतिबिम्ब गरेको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’
दाहालले ‘जनयुद्ध’बाट शान्ति प्रकियामा आउनु हुने थियो कि थिएन भनेर पनि बहस भइरहने र यो धेरै वर्षसम्म जारी रहने बताए । उनले आफू कतार र मलेसिया जाँदा ‘जनयुद्ध’मा सामेल भएका लडाकुहरु दु:ख गरेको भेटेको समेत बताए । उनले भने, ‘म कतार मलेसिया जाँदा जनयुद्धमा रहेका लडाकुहरु दु:खपूर्ण जीवन बिताएको पाएँ । दु:ख पाएको भएपनि उहाँहरुले हामी विचलित छैनौं, आवश्यक परेमा फेरि त्याग गर्न तयार समेत रहेको बताउनु भएको थियो । ‘
तत्कालीन ‘जनयुद्ध’मा उत्पीडित वर्गले केही पाएको पनि उनले बताए । ‘जनयुद्धमा उत्पीडित वर्गले केही अधिकार पाएको भन्ने पक्ष पनि छ । कसैले यसबाट बर्बाद भइयो पनि भनेका छन् । त्यसबेला महिलाहरुमा वीरता र कीर्तिमानका पक्ष पनि छन् । राज्यबाट उनीहरुमाथि अत्याचार र दमन भएका पक्ष छन् । त्यसैले यस(गीत)मा उत्तेजित हुन कोही पर्दैन । यसमा पक्ष/विपक्ष हुन सक्छ । ‘
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल धनगढी आइपुगेका हुन् ।
गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ले सशस्त्र द्वन्द्व, फेरिएको व्यवस्था र नफेरिएको अवस्थाबारे व्यापक बहस सिर्जना गराएको छ । गीतले ‘जनयुद्ध’ का लडाकुको अपमान गरेको भन्दै माओवादी नेता–कार्यकर्ताले आक्रोश पोखेका छन् । चार भ्रातृ संगठनले विज्ञप्ति नै जारी गरेर युट्युबबाटै भिडियो हटाउन र सार्वजनिक माफी माग्न सर्जकसँग माग गरेका छन् । उता सर्जक सपुतले भने वास्तविक पात्रहरूको जीवन कथा बुनेर गीत र भिडियो बनाएको प्रतिक्रिया दिएका छन् ।
गीतको पक्षविपक्षमा सामाजिक सञ्जालमा चर्को बहस चलिरहेका बेला कान्तिपुरलाई प्रतिक्रिया दिँदै गायक सपुतले हरेक दिन टेलिभिजनका पर्दा र पत्रपत्रिकाका पानामा देखिएका दृश्यलाई गीत/संगीतमा बुन्नु कसरी अस्वाभाविक भयो भनेर प्रश्न गरेका छन् । ‘पिरले युद्धकै जग/बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताका लागि सँगै लडेका कमरेडहरूबीच बढ्दै गएको असमान दूरी देखाउन मात्रै खोजेको हो । यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा समीक्षा लेखिँदै/पढिँदै आएको होइन र ?’ उनको प्रश्न छ ।(कान्तिपुर )