26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

- Advertisement -

भेटमा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव सहभागी
भाद्र ४, २०८१जगदीश्वर पाण्डे
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्यमा जोड दिनुका साथै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन् । मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा आफू र मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गरेको उल्लेख गरेकी छन् ।

‘मलाई आशा छ, यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनेछ,’ उनले लेखेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको पनि उनले बताएकी छन् । भेटपछि मोदीले पनि एक्समा परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । उनले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको पनि उल्लेख गरेका छन् ।

- Advertisement -

 

दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर रहेको पनि उनको भनाइ छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा मोदी र राणाबीचको भेटवार्तामा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको जनाएको छ । राणा र मोदीबीच सोमबार साँझ करिब ३० मिनेट कुराकानी भएको हो ।

भेटमा नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्रका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिस्टर काउन्सिलर द्रौपदा सापकोटा तथा भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्र, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

राणाले सोमबार दिउँसो नै समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी छन् । उनीहरूबीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताएकी छन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । ‘यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु,’ मन्त्री राणाले एक्समा लेखेकी छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको एक्समा उल्लेख गरेका छन् । जयशंकरकै निमन्त्रणामा राणा दिल्ली गएकी हुन् । ‘ऊर्जा, व्यापार, कनेक्टिभिटी र पूर्वाधार विकासलगायत बहुआयामिक सहयोगबारे छलफल भएको छ,’ जयशंकरले लेखेका छन्, ‘नेपालले भारतमा करिब १ हजार मेगावाट बिजुली निर्यात गर्ने भएकोमा खुसी लागेको छ, यो एउटा नयाँ कोसेढुंगा हो ।’

- Advertisement -

गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका दौरानमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको थियो । जयशंकरले भारतको ‘छिमेकी पहिलो नीति’ र लामो जनस्तर तथा सांस्कृतिक सम्बन्धले भारत र नेपालको सम्बन्धलाई अघि बढाउने उल्लेख गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासले जयशंकरसँगको भेटमा पारवहन, ट्रान्जिट, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई रुट, खाद्यान्न, पञ्चेश्वर बहुउद्देश्य परियोजना, खेलकुद, सीमा क्षेत्रका पूर्वाधारलगायत विषयमा छलफल भएको जनाएको छ ।

दुवै पक्षले द्विपक्षीय संयन्त्रहरूलाई निरन्तरता दिने पनि सहमति जनाएका छन् । भारतीय विदेश मन्त्रालयले राणा र जयशंकरबीचको भेटमा द्विपक्षीय साझेदारीबारे छलफल भएको जनाएको छ । विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल भएको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

‘ऐतिहासिक, सभ्यतागत, सांस्कृतिक र जनताबीचको सम्बन्धका कारण भारत र नेपाल घनिष्ठ र हितैषी छिमेकीहरू हुन् । हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले गति हासिल गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँचचौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका क्षेत्र जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।’

नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि सराहना गरिएको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार रहेको बताएको छ । ‘भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रहरूबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles