प्रतिनिधिमा युवाको बाहुल्य : देउवा र पौडेललाई चुनौती

Date:

Share post:

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ६५ प्रतिशतसम्म युवा आउने अनुमान
कुलचन्द्र न्यौपाने
Sher Bahadur Deuba Ram Chandra Paudel Krishna Prasad Sitaulaकाठमाडौँ — कांग्रेसको महाधिवेशन प्रतिनिधिमा युवा संख्या बढ्ने भएपछि नेतृत्व लिन प्रतिस्पर्धा गरिरहेका पहिलो पुस्तालाई चुनौती थपिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउँदा देशैभरबाट निर्वाचित भएर आउने महाधिवेशन प्रतिनिधिमा युवाको संख्या बढ्ने भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने करिब ४२ सय प्रतिनिधिमा ६० देखि ६५ प्रतिशत युवा आउने अनुमान छ । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार भएको १ सय २५ क्षेत्रको अधिवेशनमा युवा उम्मेदवारको संख्या उल्लेखनीय छ । निर्वाचन परिणाम आउन समय लाग्ने भए पनि युवा प्रतिनिधित्व ६० देखि ६५ प्रतिशत हाराहारीमा हुने अनुमान छ । क्रियाशील सदस्यताको विवादले ढिलो सुरु भएको प्रदेश २ को ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा भने गाउँ र नगरपालिका तहकै अधिवेशन जारी छ ।

आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनको ३५ दिनअघि नै राजनीतिक दलका कार्यसमिति अद्यावधिक गर्नुपर्ने भएकाले कांग्रेसलाई तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन गराउनुपर्ने बाध्यता छ । ‘पालिका र जिल्ला अधिवेशनमा विवाद देखिए तिनलाई रोकेर प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १० भित्र सक्ने लक्ष्य राखेका छौं,’ घिमिरेले भने । यसअघि हिमाली र उच्च पहाडी क्षेत्रका १३ जिल्लाको अधिवेशन भइसकेको छ । प्रदेश २ का ८ जिल्लाबाहेक सोमबार भएको क्षेत्रीय अधिवेशनमा युवाको सहभागिताले पहिलो पुस्ताका नेताहरूलाई चुनौती बढाएको हो । तल्ला तहका कार्यसमितिमा मात्रै सीमित नभई युवाले यसपटक केन्द्रीय पदाधिकारीको निर्वाचनमा मतदाता हुने महाधिवेशन प्रतिनिधिप्रतिसमेत आकर्षित भएका छन् ।

‘पहिला यस्तो थिएन, महाधिवेशन प्रतिनिधिमा बा, दाजु, काकालाई पठाउने परम्परा थियो, अहिले समाज र देश बदल्ने सपना बुनेका युवा आफैं आउन तम्सेका छन्,’ नेता चन्द्र भण्डारीले भने, ‘अहिले देखिएको उत्साहले युवा महाधिवेशन प्रतिनिधिको संख्या करिब ६५ प्रतिशत पुग्ने अनुमान हाम्रो छ ।’

युवा प्रतिनिधि बढ्नुको मतलब नेतृत्वका लागि अघि बढिरहेका सभापतिसमेत रहेका ७६ वर्षीय प्रधानमन्त्री शेरबहादुर देउवा र ७७ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि प्रत्यक्ष चुनौती रहेको नेताहरूको बुझाइ छ । तलैदेखि प्यानलबाट निर्वाचित भएर आउने भए पनि केन्द्रमा त्यसले ठूलो असर पर्ने भण्डारीले बताए । देउवा सत्र दिनपछि हुने पार्टी महाधिवेशनबाट फेरि नेतृत्वमा दोहोरिन अघि बढेका छन् । देउवाको नेतृत्वलाई चुनौती दिँदै वरिष्ठ नेता पौडेल पनि प्रतिस्पर्धाका लागि अघि बढेका छन् तर उनलाई आफ्नो समूहको

‘साङ्लो’ पार गर्न कठिनाइ देखिएको छ । यी दुवै नेताका लागि देशभरबाट छनोट हुने महाधिवेशन प्रतिनिधिको भावना जित्न उत्तिकै कठिन पर्नेछ ।

कांग्रेसमा ४१–६० वर्ष उमेर समूहका क्रियाशील सदस्यको संख्या सबैभन्दा बढी अर्थात् ३७ प्रतिशत छ भने त्यसपछि १६–४० वर्ष उमेर समूहको प्रतिनिधित्व छ, जुन ३३ प्रतिशत छ । देउवा र पौडेलले नेतृत्व गर्ने ७५ वर्षमाथिको उमेर समूहका सदस्य कांग्रेसमा ११ हजार ८ सयमात्रै देखिएका छन् । यो कांग्रेसको कुल क्रियाशील सदस्य संख्याको १ प्रतिशत हो ।

कांग्रेसमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकामा यसपटक त्यति नै संख्या बढाइएकाले पनि महाधिवेशन प्रतिनिधिको संख्या बढ्ने भएको हो । कांग्रेसको सदस्यता संख्या ९ लाखभन्दा बढी पुगेको छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाँल युवा प्रतिनिधि पात्र हुन् । यो उमेर समूहको महाधिवेशन प्रतिनिधि यसअघि आएका थिएनन् । उनको उमेरदेखि ५० वर्षसम्मकाको प्रतिनिधित्व नै यसपटक ६० प्रतिशतभन्दा बढी हुने नेता एनपी सावदले बताए ।

परम्परागत सोच र गुटगत प्रतिस्पर्धामा यसैपटक नेतृत्व चयनमा कति बदलाव आउला भन्नेमा नेताहरूको मत एउटै छैन । नेतृत्व तहमा युवाले दाबी नगरेका कारण यसको असर नेतृत्व चयनमा नदेखिने भए पनि पदाधिकारीमा प्रभाव पर्ने सावदले बताए । ‘केन्द्रीय नेतृत्वमा युवाको दाबी नभएकाले यसले पदाधिकारी र केन्द्रीय सदस्यमा प्रभाव पार्ने देखिन्छ,’ उनले भने, ‘युवालाई पदाधिकारीमा प्रतिस्पर्धा गर्न र मुद्दा प्रस्फुटित गर्न धेरै मद्दत पुर्‍याउँछ ।’ तर, युवाले लिएको परिवर्तनको सोच र भावनालाई पहिलो पुस्ताका नेताहरूले ‘कन्भिन्स’ गर्न नसक्ने भएकाले यसैपटक पार्टीको नेतृत्व दोस्रो पुस्तामा झर्ने दाबी भण्डारीले गरे ।

संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि, इतर पक्षबाट महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला नेतृत्व लिन तम्सेका छन् । निधिले उम्मेदवार घोषणा गरेर तयारी थालिसकेका छन् भने अन्य तीन प्रतिस्पर्धी आफ्नो समूहबाट साझा उम्मेदवार बन्ने दौडमा छन् । ‘प्यानलबाट प्रतिनिधि छानिए पनि केन्द्रमा आएर नेताहरूले भनेकै आधारमा युवाले भोट दिँदैनन्, उनीहरू परिवर्तनको पक्षमा छन्, युवा हस्तक्षेप बढ्दा पार्टीका परम्परागत गुट पनि भत्किन्छन्, पहिलो पुस्ताले ससम्मान अभिभावक बनेर विश्राम लिनु नै बुद्धिमता हुन्छ, दोस्रो पुस्ताका लागि पनि यो अन्तिम अवसर हो,’ भण्डारीले भने, ‘अर्को महाधिवेशन नेतृत्वदेखि नै युवाको हो ।’ उनले यसपटक दोस्रो पुस्तालाई नेतृत्व दिएर पदाधिकारीमा युवा बस्न तयार भएको बताए ।(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...