काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो । प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरूसँग छलफल गरिरहेका हुन् । उक्त भेलामा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेका छन् ।
प्रधानमन्त्री निकट एक सांसदका अनुसार भेलामा अपेक्षाभन्दा बढी सांसद उपस्थित भएका छन् । भेलामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी रहेका छन् ।
गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।
ओलीले पक्षले प्रतिनिधिसभा विघटन सही भएको भनिरहेका बेला त्यसको विरोधमा रहेका नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरू भने १ बजे संघीय संसद् भवन बानेश्वरमा भेला हुँदैछन् ।(कान्तिपुर )