भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

Date:

Share post:

शम्भु कट्टेल
काठमाडौं : भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आज काठमाडौं आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछिन्। मन्त्रिपरिषद्को गत माघ २० गतेको बैठकले भारतीय सेनाध्यक्षको नेपाल भ्रमण स्वीकृत गरे पनि कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको थियो। नेपाल र भारतका प्रधानसेनापतिहरू एकअर्काे मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ। त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए।

नेपाली सेनाले भारतीय सेनाध्यक्षको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले सम्भावित सुरक्षा चुनौती विश्लेषण गरी सोहीबमोजिम सुरक्षा रणनीति तय गरिएको बताए। ‘तीनवटै सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाएका छौं’, सैनिक प्रवक्ता पौडेलले अन्नपूर्णसँग भने।

नरवणेले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने तय भएको छ। पशुपति क्षेत्र विकास कोषले भारतीय सेनाध्यक्ष नरवणेलाई पशुपतिनाथको दर्शन गराउने तयारी गरिरहेको छ। कोरोना भाइरस जोखिमका कारण सर्वसाधारणलाई भने पशुपतिको दर्शन गर्न रोक लगाइएको छ। जंगी अड्डा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लिखित आग्रहमा नरवणेका लागि दर्शनको व्यवस्था मिलाइएको कोषका एक अधिकारीले बताए।

नरवणेले प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्नेछन्। नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ। सो अवसरमा नरवणेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने गरी स्वास्थ्य सामग्री र औषधि नेपाली सेनालाई प्रदान गर्नेछन्। उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग छलफलसमेत गर्ने कार्यक्रम छ।

उनले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच उत्पन्न पछिल्लो परिस्थिति र आफ्नो अडानबारे कुरा राख्ने तयारी रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार नरवणेले भारत र अमेरिकाबीच सूचना आदानप्रदानसम्बन्धी हालै भएको महत्वपूर्ण रक्षा सम्झौताप्रति नेपालको समर्थनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्नेछन्।

प्रधानमन्त्री ओलीले नरवणेको नेपाल भ्रमणको तयारी भइरहेका बेला रक्षा मन्त्रालयको जिम्मेवारीबाट ईश्वर पोख्रेललाई हटाएर आफैंले सम्हाल्ने निर्णय गरेका थिए। पोख्र्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ। भारतीय सेनाध्यक्षसँगको भेटका क्रममा उपप्रधानमन्त्री पोख्रेललाई सहभागी गराउने कि नगराउने भनेर छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ। ती स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने उपप्रधानमन्त्री भएकाले पोख्रेल र सेनाध्यक्ष नरवणेबीच भेट गराउनुपर्ने सुझाव कतिपयले प्रधानमन्त्रीलाई दिएका छन्। प्रधानमन्त्री ओली र प्रधानसेनापति थापाबीच पनि यो विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।

प्रधानमन्त्रीले यसअघि भारतीय गुप्तचर प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री निवास बालुवाटारमा घनीभूत छलफल गरेका थिए। विश्लेषकले गोयल र नरवणेको भ्रमणपछि नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध केही सुध्रिने अपेक्षा गरेका छन्। नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला नरवणेले चीनतर्फ संकेत गर्दै अरू कसैको इसारामा नेपालले भारतसँगको सीमा विवाद निम्त्याएको बताएका थिए। नरवणेको उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना केही मन्त्रीमार्पmत नरवणेलाई आफ्नो अभिव्यक्ति सच्याउन लगाएका थिए। लगत्तै नरवणेले अर्को कार्यक्रममा नेपालसँग भारतको राम्रो सम्बन्ध रहेको भन्दै आफ्नो अघिल्लो अभिव्यक्ति घुमाउरो पारामा सच्याउने प्रयास गरेका थिए। नेपाली सेनाले नरवणेको भ्रमण सार्वजनिक गरेपछि विभिन्न समूहले विरोधसमेत गरेका छन्।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...