पौडेल भन्छन्: ‘पार्टीलाई भिख माग्ने बनाइयो’
काठमाडौँ — पार्टीको महाधिवेशन नुहने परिस्थिति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सोमबार अपरान्ह महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन् । क्रियाशील सदस्यता र महाधिवेशनकै प्रसंगमा कुराकानी गर्न बोलाइएको पौडलनिकट एक नेताले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भएपछि संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगसमक्ष पुगेर पार्टीको वैधानिकता बचाउने उपायको खोजी गरिरहेका छन् । संस्थापन पक्षको यो खालको कदमलाई पौडेल पक्षले रुचाएको छैन । नेता पौडेलले सोमबार बिहानै ट्विट गरेर कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पुर्याएको भन्दै आपत्ति जनाएका थिए ।
महाधिवेशनको गर्न नसक्ने गरी मिति घर्किन लागेपछि सभापति शेरबहादुर देउवासँग पौडेल आक्रोशित छन् । पौडेलले सोमबार ट्विट गर्दै महाधिवेशन हुन नसक्ने स्थिति सिर्जना गर्नुलाई नेतृत्वको चरम सफलता र लापर्बाही भनेका छन् ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक बर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ पौडेलले भनेका छन्,‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवार्ही अरु के हुन सक्छ ?’ पौडेलले यस्तो परिस्थिति आउनुलाई मुलुककै विडम्बना भनेका छन् । ‘सर्वत्र सफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्,’ पौडेलले भनेका छन् ।(कान्तिपुर )