26.2 C
Kathmandu
Monday, May 12, 2025
spot_img

माओवादी अध्यक्षमा फेरि दाहाल

- Advertisement -

‘जनताको सेवा गर्ने यो अन्तिम अवसर हो, सायद अन्तिम चुनौती पनि’- दाहाल
आकांक्षीको व्यवस्थापन गर्न जटिल भएपछि अन्य पदाधिकारी चयन प्रक्रिया अलपत्र, सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा
बबिता शर्मा
Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmanduकाठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ ।
मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारी चयन गर्ने बैठक एक साता धकेलिएको हो । महाधिवेशन हलले आइतबार २ सय ३६ सदस्यीय अपुरो केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशनबाट पारित माओवादीको विधानमा केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने व्यवस्था छ । यसैअनुसार अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।

ललितपुरको सानेपामा बसेको बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने समर्थन कृष्णबहादुर महराले गरेका थिए । श्रेष्ठको प्रस्ताव र महराको समर्थनलाई केन्द्रीय सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । त्यसअघि नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए ।

- Advertisement -

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने पुस २५ मा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुंगो लगाइने भएको छ ।

चीनमा उपचाररत वर्षमान पुन चाँडै स्वदेश फर्कने कारण देखाएर दाहालले पदाधिकारी चयन प्रक्रिया केही दिन पछाडि सारिएको बताए । ‘वर्षमान पुन र ओनसरी घर्तीले पदाधिकारीको चयनमा हामी पनि सहभागी हुन्छौं भनेर आग्रह गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महराले भने, ‘पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको पनि गृहकार्य भइरहेको छ । पहिलो बैठकबाटै टुंगो लगाउनुपर्छ भनेर स्थगित गर्‍यौं ।’

पुनले दाहाललाई फोन गरी आफू पनि महासचिवको दाबेदार भएकाले काठमाडौं फर्केपछि मात्र पदाधिकारी चयन गर्नुपर्ने बताएका थिए । ‘म महासचिवको उम्मेदवार हुँ, सहमति भए ठिकै छ, नभए चुनाव लड्छु,’ पुनको भनाइ उद्धृत गर्दै निकट एक नेताले भने ।

स्रोतका अनुसार आकांक्षीहरूको व्यवस्थापन गर्न जटिल भएपछि दाहालले अन्य पदाधिकारी चयन प्रक्रिया लम्ब्याएका हुन् । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । केन्द्रीय समिति र अध्यक्ष निर्विरोध निर्वाचित भएकाले पदाधिकारीमा निर्वाचन हुने सम्भावना कमजोर बनेको छ ।

अध्यक्ष चयन भएपछि दाहालले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्को केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो लाग्ने बताएका छन् । एक नेताका अनुसार दाहालले आइतबार र सोमबार स्थायी समितिमा रहेका नेताहरूलाई एक्लाएक्लै भेटेर परामर्श गरेका थिए ।

- Advertisement -

यसअघि महासचिवका दाबेदार भनिएका महराले दाहालसँगको भेटमा आफू महासचिव नहुने तर वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । ‘म वरिष्ठ उपाध्यक्षको दाबेदार हुँ, सहमति नभए चुनाव लड्छु,’ महराको भनाइ उद्धृत गर्दै एक नेताले भने । वरिष्ठ उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठको पनि दाबी छ ।

चीनमा उपचाररत पुन महासचिवका दाबेदार हुन् । पटक–पटक मन्त्री बनेका उनले पनि आफ्नो गृहजिल्लामा बलियो संगठन बनाएका छन् । उनले पार्टीलाई फरक ढंगले चलाउन महासचिवमा आफ्नो दाबी स्वाभाविक भएको निकटहरूसँग बताउने गरेका छन् । २०६३ बाट माओवादीको सचिवालय सदस्य बनेका उनी हेटौंडा महाधिवेशनबाट सचिव बनेका थिए । उनी लामो समयदेखि दाहालको विश्वासिलो पात्रका रूपमा रहँदै आएका छन् । उनी छिट्टै नेपाल फर्कने भएका छन् ।

महासचिवको दाबेदारका अर्का नेता हुन्– जनार्दन शर्मा । उनी हाल अर्थमन्त्रीसमेत छन् । आफ्नै खुट्टामा उभिएको पार्टी बनाउने आत्मविश्वास र मार्गचित्रसहित शर्माले महासचिव बन्ने आकांक्षा राखेका छन् । दाहालसँग कहिले सहकार्य त कहिले संघर्षको नीति लिने उनी सक्रिय नेतामध्ये पर्छन् । प्रदेश र जिल्ला तहसम्म आफ्नो पक्षमा नेता–कार्यकर्ता बनाएका शर्माले पनि महासचिव बनेर माओवादीलाई नयाँ ढंगले चलाउने दाबी गर्दै आएका छन् । गृहजिल्ला रुकुममा उनले माओवादीको बलियो संगठन निर्माण गरेका छन् ।

महासचिवका लागि आकांक्षा राख्नेमा ऊर्जामन्त्री पम्फा भुसाल पनि छिन् । दाहालसँगको भेटमा भुसालले आफू महासचिवको दाबेदार भएको बताएकी छन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेकी उनी २०७४ को चुनावअगाडि माओवादीमा फर्केकी थिइन् । पार्टीभित्र उनी सबैभन्दा वरिष्ठ महिला नेता हुन् । दाहालसँग उनको सम्बन्ध राम्रो छ । पार्टीभित्र आफूभन्दा जुनियरबीच महासचिवका लागि प्रतिस्पर्धा देखिएपछि देव गुरुङले पनि आकांक्षा राखेका छन् । त्यसबाहेक शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले पनि महासचिवमा दाबी गरेका छन् ।

माओवादी नेताहरूका अनुसार आकांक्षी धेरै भए पनि अन्तिममा पुन र शर्माबीच प्रतिस्पर्धाको सम्भावना छ । अध्यक्ष दाहालले सहमति जुटाउन सबै विकल्पमा कोसिस गर्ने र सहमति नभए निर्वाचनसम्म जान सक्ने संकेत गरेको उनीनिकट नेताहरू बताउँछन् । पुन र शर्मा एकअर्कालाई स्वीकार गर्ने पक्षमा छैनन्, बरु दुवै जना निर्वाचनका लागि तयार छन् । महासचिवका लागि पुन र शर्माले दाहाललाई रिझाउन सम्भव भएसम्मका उपाय अवलम्बन गरेको स्रोतको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समिति चयन लोकतान्त्रिक विधिबाट भएको दाबी गरेका छन् । ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिको आदेशमा नभई स्थायी र आयोजक समितिको सर्वसम्मत प्रस्तावबाट समिति चयन भएको दाबी गरे ।

‘हाम्रो महाधिवेशन विचारमा आधारित भएर बहस भयो । हामीले राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक बहस गरेर पारित गर्‍यौं । प्रदेश–प्रदेशमा नेतृत्वको जिम्मा दिएका कमरेडहरूको रायसुझावलाई नै हामीले आत्मसात् गर्‍यौं र त्यसलाई केन्द्रित गरेर महाधिवेशन हलमा प्रस्तुत गर्‍यौं,’ उनले भने, ‘प्रचण्डको आदेशका रूपमा होइन, त्यतिबेला आयोजक र स्थायी समितिको सर्वसम्मत प्रस्तावका रूपमा केन्द्रीय समिति निर्वाचित गर्‍यौं ।’

महाधिवेशनमा सबैभन्दा बढी देश र जनताका हकअधिकार, विकास निर्माणको बारेमा जनवादी बहसबाट निचोड निकाल्न सफल भएको दाबी दाहालको छ । तर त्यसबारे मिडियामा गलत प्रचार भएको उनको गुनासो थियो । ‘कतिपय मिडियामा प्रचण्डले आदेश दियो, ताली लगाउनुस् भन्यो, ताली लगाए भनेर हाम्रो महाधिवेशनमा आएका झन्डै १८ सय नेताको अपमान गर्न खोजियो, मलाई दुःख र नमिठो लाग्यो,’ उनले भने । तर, महाधिवेशनबाट फेरि एक पटक ऐतिहासिक क्रमभंग गरेको दाहालको भनाइ छ । ‘हामीले पार्टीलाई क्रान्तिकारी रूपमा अगाडि बढाउने, राष्ट्र र जनताको बृहत्तर हितका निम्ति समर्पित पार्टीका रूपमा अगाडि बढाउने ऐतिहासिक संकल्प लिएर आएका छौं, केन्द्रीय समिति र मेरो काँधमा निकै ठूलो जिम्मेवारी थपिएको छ,’ उनले भने ।

लामो समयदेखि आफू पार्टीको नेतृत्वमा रहेर नेपालका ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको दाबी पनि दाहालले गरे । दाहाल तीन दशकभन्दा बढी समय पार्टीको नेतृत्वमा छन् । अध्यक्षको हैसियतमा आफ्ना लागि अन्तिम अवसर भएको जनाउँदै दाहालले भने, ‘आज यो जिम्मेवारी फेरि एक पटक बोक्दै गर्दा, अध्यक्षको हैसियतले यो राष्ट्र, जनताको सेवा गर्ने र महान् बहस उठाउँदै विश्वभरिकै न्यायपूर्ण आन्दोलन र विश्वभरिकै श्रमिक जनताको सेवा गर्ने यो अन्तिम अवसर हो ।’(कान्तिपुर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles