यस्तो हो नेपालको खास नक्सा

Date:

Share post:

सुरेन्द्र काफ्ले
काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ।

नेपालको पश्चिम सीमा लिम्पियाधुरा ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। कालापानी र लिपुलेकको क्षेत्रफल ६२ वर्ग किलोमिटर छ। लिम्पियाधुरामा तीनवटा गाउँ छन्। कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

काली नदीको मुहान् लिम्पियाधुरा हो। त्यहाँ नेपाल र भारतको सिमाना छुट्याउने महाकाली नदीको सबैभन्दा ठूलो जलाधार छ। काली नदीको मार्गमा पार्वती कुण्ड पर्छ। पार्वती कुण्डको माथिदेखि छोटा कैलाश छ। पार्वती कुण्डमा कालीको पानी मिसिन्छ। त्यहीं काली मन्दिर पनि छ। काली नदीलाई स्थानीयमा कुटी याङ्दी भनिन्छ। त्यहाँ सौका समुदायको बसोबास छ।

सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो। सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ। सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ। सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ।

तर भारत लामो समयदेखि कालीवारि आएको छ। उसले लिम्पियाधुराबाट करिब ३० किलोमिटरपूर्व भारतीय सीमा सुरक्षा फौज राखेको छ। कालापानीभन्दा ३० किलोमिटर पश्चिमसम्म लिम्पियाधुरा छ। लिम्पियाधुरा मात्र होइन, कालापानी र लिपुलेक पनि भारतीय कब्जामा छ। कालापानीदेखि लिम्पियाधुरासम्मका तीन गाउँ कुटी, नाबी र गुञ्जीको जनगणना, मालपोत अभिलेख तथा अन्य ऐतिहासिक प्रामाण र दस्तावेजले नेपाल भएको पुष्टि गर्छ।

नेपाल सरकारले २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो। त्यतिबेला हालको दार्चुला (तत्कालीन बैतडी) जिल्लाअन्तर्गत थियो। तत्कालीन ब्यास गर्खा (दरा) मा ६ गाउँ थिए। २०११ को जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या चार सय ३४ तथा कुल जनसंख्या एक सय आठ सय १६ देखाएको छ।

अग्रज पत्रकार भैरव रिसालको नेतृत्वमा त्यस क्षेत्रमा २०१८ सालमा भएको जनगणनामा व्यास क्षेत्रका गुञ्जी, नाबी, कुटी, तिंकर र छाङ्रु गाउँको गणना गरिएको थियो। २०१८ साल यता लिम्पियाधुरामा नेपालको उपस्थिति शून्य छ। यो भूभागसहित त्यहाँका बासिन्दालाई भारतीय बनाइसकिएको छ। सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा लिम्पियाधुरा भएको सीमाविद् पुण्यप्रसाद ओलीले बताए।

सरकारले ऐतिहासिक तथ्य, प्रमाण र दस्ताबेजसमेत राखेर भारतसँग छलफलको ठोस प्रस्ताव बनाउने भएको छ। लेखक रतन भण्डरीको ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा’ पुस्तक अनुसार सन् १८१७ फेब्रुअरीका दिन इस्ट–इन्डिया कम्पनीका कार्यवाहक मुख्य सचिव जे. आदमले काठमाडौंस्थित आवासीय प्रतिनिधि एडवर्ड गार्डनरलाई पठाएको पत्रमा ‘काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना चौतरिया बम शाहको दाबीअनुसार नेपालको ठहरिन्छ। तसर्थ त्यो ठाउँ नेपाल सरकारका अधिकारीलाई बुझाउनू’ भनी निर्देशन दिएका छन्।

ऐतिहासिक तिरोभरोका आधारमा समेत महाकालीको मुहान् लिम्पियाधुरा उल्लेख छ। जलविज्ञानका आधारमा लिम्पियाधुराबाट आउने काली नदी लिपुलेकबाट आउने लिपुखोलाभन्दा दुईतीन गुणा ठूलो छ। सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो। कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटी याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो।

त्यसभन्दा पनि पूर्व कालापानीमा भारतले कृत्रिम नदी बनाएर काली नदी भन्दै नक्सा जारी गरेको हो।(अन्नपूर्ण )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...