वृद्ध भएपछि परिवारमा एक्लै परेका खड्गबहादुर विकलाई पढ्ने रहरले शान्ति त दिएकै छ, हिँड्नुपरेकाले स्वास्थ्यलाभ पनि भएको छ
पर्वत पोर्तेल
सलकपुर, इलाम — उनको निर्णय गाउँलेलाई अनौठो त लागेकै हो । उनलाई भने जानीबुझी गरेकाले अप्ठेरो लागेको छैन । इलामको दक्षिणपूर्वी रोङ गाउँपालिका–६ सलकपुरका खड्गबहादुर विक ७२ वर्षका भए । यो उमेरमा उनी स्कुल भर्ना भएका छन् । महिना दिनअघि स्थानीय मोती माविमा कक्षा २ मा भर्ना भएका हुन् । पतानी उमेरका बालबालिकासँग बसेर लेखपढ गर्छन् । शिक्षकले दिएको गृहकार्य नियमित गर्छन् । ‘हेडमास्टरले ५ कक्षामा भर्ना भए हुन्छ भन्नुभएको थियो,’ विकले भने, ‘तर मैले नै मानिनँ, सानै किलासबाट सुरु गरौं भन्ने लाग्यो ।’जीवनभर स्कुलमा पाइलै नटेकेका विकलाई १२ वर्षयता भने पढ्ने हुटहुटी थियो । तर, घर परिवारको असहयोगले रहर पूरा गर्न पाएका थिएनन् । ‘सानामा घरको आर्थिक स्थितिले पढ्न पाइएन,’ उनले सुनाए, ‘पछि श्रीमती र छोराछोरीले जान दिएनन् ।’
चार वर्षअघि एउटा घटनामा बात लागेर छोरा जेल परे । पत्नी बितिन् । छोरीहरू बिहे गरेर गए । चार सन्तानका पिता भए पनि
उनी अहिले घरमा एक्लै छन् । आम्दानीको स्रोत सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र छ । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी पो भइन्छ कि जस्तो भयो,’ उनी भन्छन्, ‘त्यही भएर मन भुलाउन स्कुल भर्ना भएँ ।’
भर्ना हुन पहिलोपटक स्कुल जाँदा शिक्षक र विद्यार्थी दुवै झस्किएका थिए । घरमा आराम गर्ने उमेरमा किन स्कुल पढ्नुपर्यो भनेर छरछिमेकले पनि हतोत्साही पारे । तर, उनी पछि हटेनन् । ‘जसले जेसुकै भनून् भनेर अघि बढें’, विकले सुनाए, ‘स्कुल जान थालेपछि मन पनि शान्त भएको छ ।’ बाथका बिरामी उनी डेढ किलोमिटर नियमित हिँडेरै कक्षा धाउँछन् । नियमित हिँडाइले बाथको समस्या पनि कम हुँदै गएको उनको अनुभव छ ।
स्कुलका प्रधानाध्यापक कुमार मगरका अनुसार एक्लो जीवन बिताइरहेका विकका लागि स्कुल भर्ना भएर पढ्नुले मानसिक रूपमा आराम दिएको देखिन्छ । ‘उहाँ असाध्यै जिज्ञासु र सहयोगी पनि हुनुहुन्छ,’ मगरले भने, ‘नजानेको कुरा फ्याट्ट सोध्ने बानी छ ।’
रोङ–६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) ले बुढ्यौली उमेरमा पनि स्कुल भर्ना भएर विकले सिंगो गाउँलाई नै प्रेरणा दिएको बताए । वडाध्यक्ष स्याङ्वोले भने, ‘७२ वर्षको उमेरमा पनि उनमा स्कुल पढ्ने ऊर्जा आउनु ठूलो कुरा हो ।’
विकलाई नियमित रूपमा पठनपाठनका लागि निःशुल्क व्यवस्था मिलाउन गाउँपालिकाले पहल गर्ने स्याङ्वोले जनाए । ‘उहाँ जति कक्षासम्म पढ्न चाहनुहुन्छ, त्यतिसम्म पढ्ने वातावरण पालिकाले मिलाउनेछ’, उनले भने, ‘अन्य सहयोगी संघसंस्थासँग पनि उहाँको पढाइका लागि पहल गर्नेछौं ।’(कान्तिपुर )