24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

वामपन्थी शक्तिको टुटफुटले देशमा सङ्कट उत्पन्न भएको छ : अध्यक्ष नेपाल KuwaitNepal


काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।

पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले विभिन्न समयमा भएका वामपन्थी शक्तिको टुटफुटले देशमा उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले उनीहरूलाई गोलबद्ध गर्न देशभर राजनीतिक अभियान सुरु गरेको बताए।

कम्युनिष्ट आदर्श तथा मूल्य, मान्यतालाई आत्मसात् गर्ने दलहरूसँग सहकार्य तथा एकताको सम्भावना रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले मूलधारको कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गरेको विचार व्यक्त गरे। नेपालले मुलुकमा लोपोन्मुख तथा सीमान्तकृत आदिवासी जनजाति समुदायलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनीहरूको सांस्कृतिक सम्पदा संरक्षणका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने बताए।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वैज्ञानिक समाजवादले मात्र नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गर्दै गणतन्त्र पक्षधरको एकताले मात्र राष्ट्रलाई एकताबद्ध गर्न सकिने उल्लेख गरे। महासङ्घका अध्यक्ष वीरबहादुर बुढाथोकी मगरले संविधानप्रदत्त सबै जाति तथा समुदायका अधिकार सुनिश्चित गर्न सकेमा विद्यमान सबै प्रकारका वर्गीय विभेदको अन्त्य हुने र त्यसबाट आदिवासी जनजातिको पनि हकहित तथा अधिकारको संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे।

आइतबारसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३५ जातीय घटक सङ्घ, सात प्रदेश महासङ्घ र ७० जिल्ला महासङ्घबाट करिब ६ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles