सुरज कुँवर
काठमाडौँ — भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौंबाहिरको विराटनगर विमानस्थल दुइटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ ।‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले कान्तिपुरसँग भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार, विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो ।
मंगलबार सय वटा आन्तरिक उडान रद्द
खराब मौसमका कारण बुद्धको एटीआर र श्री एयरलायन्सको सीआरजे विमान मंगलबार राति काठमाडौं फर्किन नसकेर त्यहीँ ‘नाइट–स्टपमा’ मा परेका थिए । खरेलले पानीबाट जोगाउन बुधबार बिहानै श्रीको जहाजलाई पानी कम भएको स्थानमा सारिएको बताए ।
‘बुद्धको जहाज भएको स्थानमा त्यति पानी छैन, श्रीको जहाज कम पानी भएको धावनमार्ग नजिकै सारेका छौं,’ खरेलले भने । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ। यहाँबाट दैनिक १ हजार यात्रु ओहोरदोहोर गर्दै आएका छन् ।