रास्वपाका सांसद हरि ढकालले डेडिकेटेड तथा ट्रंकलाइनको विषय उठाउन खोज्दा माइक काटिदिए, एमालेका सांसद दामोदर पौडेल वैरागी विषयान्तर हुँदा रोकेनन्
श्रावण ३०, २०८१जयसिंह महरा
काठमाडौँ — सभामुख देवराज घिमिरे प्रतिपक्षी दलका सांसदलाई बोल्न अंकुश लगाउन खोज्दा विवादमा परेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार रास्वपाका सांसद हरि ढकाल डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौताको विषय उठाउन खोज्दा सभामुख घिमिरेले माइक काटिदिएका थिए । सत्तारूढ एमालेका सांसद दामोदर पौडेल वैरागी विषयान्तर हुँदा भने उनले रोकेनन् । रास्वपाले सभामुखलाई पक्षधरता नदेखाईकन प्रतिपक्षको आवाज सुन्ने वातावरण बनाउन आग्रह गरेको छ ।
प्रतिनिधिसभा बैठकमा सांसद ढकालले सडक यातायातका विषयमा धारणा राख्न सुरु गरेका थिए । उनले प्राकृतिक प्रकोपका कारण मात्रै नभई निर्माणका क्रममा हुने भ्रष्टाचारको प्रकोपले पनि पुल र सडक भत्किएको उल्लेख गरे । त्यसपछि उनले ‘विद्युत् प्राधिकरणमा म जान चाहें, मिटर जडान गरेर महसुल असुल गर्ने ठाउँमा…’ भनी डेडिकेटेड र ट्रंकलाइनको प्रसंगमा प्रवेश गर्दै थिए, सभामुख घिमिरेले लाइन काटिदिए । घिमिरेले ‘माननीय सदस्य तपाईंको विषय सकियो बस्नुस्’ भनेर आदेश दिए । ३ मिनेट समय पाएका ढकालले साढे १ मिनेट मात्रै बोलेका थिए ।
सभामुखले माइकमा लाइन अझै नदिएपछि रास्वपा र राप्रपाका सांसदले सिटबाट उठेर विरोध गरे । सभामुख घिमिरेले भने आफूलाई जानकारी गराएको विषयभन्दा फरक बोल्न नपाउने अडान सुनाए । रास्वपा र राप्रपाका सांसद नबसेपछि उनले रास्वपा सभापति रवि लामिछानेलाई २ मिनेट समय दिए तर लामिछानेले ढकाललाई नै बोल्न दिन आग्रह गरे । तर सभामुखले राप्रपा अध्यक्ष राजेन्द्र
लिङ्देनलाई समय दिए । ‘हामीले आकस्मिकमा समय प्राप्त गर्छौं, योपटकबाट परम्परा बिगारिएको छ । प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्रै बोल्न पाउँछौ, पहिले नै यो विषय भनेर लेखाएर मात्रै बोल्न पाउँछौ भन्ने व्यवस्था मान्य हुँदैन,’ लिङ्देनले भने, ‘जनताका प्रतिनिधिले आफ्नो कुरा राख्छन्, त्यो संविधानविपरीत र संसद्को नियमावलीविपरीत भयो भने मात्र सभामुखले प्रतिबन्ध लगाउने हो ।’
त्यही बीचमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली वाचन गरेर सुनाए, जसमा आकस्मिक समयमा के गर्न पाइने र के नपाइने भन्ने व्यवस्था थियो । त्यति बेला एमालेका रघुजी पन्तले सिटबाट उठेर प्रतिवाद गरे, एमालेकै ठाकुर गैरेले पनि समय मागे । पन्त र गैरेतिर सभामुखले ध्यानै दिएनन् । सभामुखले समय नदिएपछि प्रमुख प्रतिपक्ष माओवादीका सांसदहरूले पनि सिटबाट उभिएर विरोध जनाए । रास्वपा सभापति लामिछानेले ‘डेडिकेटेड र ट्रंकलाइनको नाम लिनै लाग्दा माइकको लाइन काट्नुको अन्तर्य के हो ?’ भनेर प्रश्न गरिरहेका थिए । २० मिनेटको वादविवादपछि सभामुख घिमिरेले सांसद ढकाललाई बाँकी रहेको समयभित्र बोल्न माइकको लाइन जोडिदिए । सांसद ढकालले आक्रोशित हुँदै आगामी दिनमा यस्ता गतिविधि नगर्न सभामुख घिमिरेलाई चेतावनी दिए । ‘प्रतिपक्षले उठाउन लागेको सुशासनका मुद्दा र भ्रष्टाचारका विषयमा यो खालको रवैया कृपया नदेखाइयोस्,’ उनले भनेका थिए ।
प्रतिनिधिसभाको मंगलबारकै बैठकमा रास्वपा सभापति लामिछानेले सहकारी ठगी गरेको रकम फिर्ता गर्नुपर्ने माग एमालेका सांसद दामोदर पौडेल वैरागीले राखेका थिए । त्यसमा नियमापत्ति जनाउन रास्वपाका मनीष झा सिटबाट उठे । सभामुखले झोक्किँदै ‘के नियमापत्ति हो ?’ भन्दै प्रश्न गरे ।नियमापत्तिपछि पनि सांसद पौडेलले विषयान्तर भई प्रतिपक्षी सांसदको आलोचना गर्दा सभामुखले रोकेनन् । त्यसपछि रास्वपाका सांसदहरू सिटबाट उठे र अशोक चौधरीले नियमापत्तिमा बोल्न समय मागे । सभामुखले भने, ‘तपाईंको आपत्ति के विषयमा हो, पहिला भन्नुस् अनि मात्रै माइक दिन्छु ।’ रास्वपाका सांसद चौधरीले माइक नपाए पनि केही बोले तर सभामुखले झोक्किए, ‘माननीय सदस्य तपार्इं बस्नुस्, मैले तपाईंलाई आदेश जारी गर्छु, बस्नुस् ।’ सांसदले सिटबाट उभिएर नियमापत्ति गरे बोलिरहेको सांसदलाई रोक्ने र नियमापत्ति गर्नेलाई माइकको लाइन दिएर बोल्न दिने संसदीय अभ्यासको सभामुखले ख्यालै गरेनन् ।
संसद् बैठकपछि कार्य व्यवस्था परामर्श समिति बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला र कार्य व्यवस्था समिति प्रतिनिधि लीलानाथ श्रेष्ठले रास्वपा सांसदलाई डेडिकेटेड र ट्रंकलाइनबारे बोल्नका लागि समय दिन सभामुखलाई बाध्य पार्नु सही नभएको बताएका थिए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखजस्तो सम्माननीय आसनबाट सदनमा पक्षधरता हुनु नहुने र प्रतिपक्षको आवाजलाई सुन्ने वातावरण बनाउनुपर्ने जवाफ फर्काएका थिए ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने आकस्मिक समयमा रास्वपा सांसद विषयान्तर भएपछि सभामुखले रोक्न खोजेको बताए । उनले भने, ‘आकस्मिक समय सभामुखको, विशेष समय दलको र शून्य समय सांसदको हो ।’ एमालेकी सचेतक सुनिता बरालले सदनको घटनाबारे कार्य व्यवस्था परामर्श समितिमा पार्टीको धारणा राखिएको कान्तिपुरलाई बताइन् । ‘सभामुख संसदीय अभ्यासमा नयाँ र राजनीतिक व्यक्ति हुनुका कारणले संसद्को कार्यशैली अव्यवस्थित भएको हो कि भन्ने लाग्छ,’ उनले भनिन्, ‘तर उहाँले पार्टीको पक्ष लिएको एमालेलाई अनुभूति भएको छैन ।’
माओवादीका सांसद माधव सापकोटाले सभामुख घिमिरे चासो राख्नु नपर्ने विषयमा चासो राख्दा विवादमा परेको बताए । ‘सभामुखले समय दिएपछि सांसदलाई यो बोल र त्यो नबोल भन्ने होइन,’ उनले भने, ‘नियमावली र संविधानविपरीत बोले मात्र सभामुखले रोक्ने हो ।’ रास्वपाका प्रमुख सचेतक परियारले सभामुखले पक्षधरता देखाउन नहुने बताए । ‘सभामुखले त प्रतिपक्षको आवाजलाई सुन्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ न कि प्रतिपक्षलाई यो गर त्यो नगर भन्ने हो,’ उनले भने । स्रोत : कान्तिपुर )