सगरमाथा ८८४८.८६ मिटर अग्लो

Date:

Share post:

पहिलो पल्ट नेपालले गरेको मापनमा चीनको समेत एकमत
सुरज कुँवर
काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको संयुक्त रूपमा घोषणा गरेका छन् । योसँगै सर्वोच्च शिखरको उचाइबारे दुई देशबीच दशकौंदेखि रहेको मतभेद टुंगिएको छ ।
नेपाल र चीनले संयुक्त भिडियो कन्फरेन्स आयोजना गर्दै नयाँ उचाइ घोषणा गरेका हुन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले सगरमाथा (चोमोलोङमा) को नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर घोषणा गरेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालका साथ कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश तथा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति सी चिनफिङको सन्देश पढेर सुनाएका थिए ।

काठमाडौं र बेइजिङबाट मंगलबार भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा सर्वोच्च शिखर सगरमाथा को नयाँ उचाइ घोषणा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललगायत र चिनियाँ विदेशमन्त्री वाङ यी । तस्बिर : किरण पाण्डे/कान्तिपुर

गत वर्ष नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति चिनफिङले दुवै मुलुकले सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने बताएपछि नेपालले नयाँ उचाइ घोषणको कार्यक्रम पछि सार्नुपरेको थियो । मन्त्री अर्यालका अनुसार पहिलो पटक १ सय ६८ वर्षपहिले (सन् १८५२) मा ब्रिटिस सर्भे अफ इन्डियाको सर्भे विभागले हालको सगरमाथालाई सबैभन्दा अग्लो चुचुरो भएको तथ्य सार्वजनिक गरेको थियो ।

त्यसपछि अनेकौं पटक विभिन्न अध्येता तथा मुलुकले सगरमाथाको फरक–फरक उचाइ मापन गरेका थिए । मन्त्री अर्यालका अनुसार भूकम्पलगायत विभिन्न खाले प्राकृतिक घटनाका कारण सगरमाथाको उचाइ फरक परेको छ कि भन्ने आशंका गरिएका थिए । त्यस्तै विभिन्न समयमा विभिन्न मुलुकका सरोकारवाला संस्था, शोध तथा अनुसन्धान संस्थाहरू, विश्वविद्यालयका विज्ञ वैज्ञानिकहरूले सगरमाथाको उचाइ मापन गरी फरकफरक उचाइ सार्वजनिक गरेकाले भ्रम पनि सिर्जना भएका थिए ।

फाइल फोटो

मीनभवनस्थित नापी विभागमा मंगलबारै आयोजित दोस्रो कार्यक्रममा उनले बताएअनुसार सन् १९०४ मा ब्रिटिस, १९५४ मा भारत, १९७५ मा चीन तथा १९८७ र १९९२ मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए । त्यस्तै १९९९ मा अमेरिका, २००४ मा पुनः इटाली, २००५ मा चीन र २०१० मा डेनमार्कले उचाइ मापन गर्दै प्रत्येक पटक फरकफरक अंक निकालेका थिए ।

‘सगरमाथाको उचाइबारे विभिन्न आशंका र दुविधाहरूको निवारण गर्न जरुरी थियो,’ मन्त्री अर्यालले भनिन्, ‘हामीले आफ्नै स्रोत, साधन र जनशक्ति परिचालन गरी उचाइ मापन गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेका छौं । हामी अन्य देशका सर्भेयरले मापन गरिदिएको उचाइलाई उद्धृत गरेर गर्व गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेकामा अब हाम्रो सगरमाथा नै संसारको सर्वोच्च शिखर हो भन्ने सप्रमाण दाबी गर्न सक्ने गरी आत्मनिर्भरताको अवस्थामा पुगेका छौं ।’ उनले नयाँ उचाइ घोषणासँगै नेपालको मान, सम्मान र गौरव बढेको बताइन् ।

सगरमाथाको उचाइ नाप्न सरकारले २०७४ मंसिरमा एउटा कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा सहभागीहरूको सुझावका आधारमा नेपाल सरकारले सगरमाथाको उचाइ नाप्ने कार्यक्रम बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको थियो । त्यसपछि २०७५ चैत २७ गते प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल, नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा लगायतलाई सगरमाथाको उचाइ मापन कार्यका लागि पठाइएको थियो ।

नापी अधिकृत गौतम र कार्की चार जना शेर्पा गाइडसँगै जेठ ८ गते चुचुरोमा पुगेको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले बताए । उनका अनुसार चुचुरोमा पुगेको टोलीलाई ५ हजार ६ सय मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सर्भेयर भण्डारी र अमिन धितालले सघाएका थिए । नापी अधिकृत गौतमका अनुसार उनीहरूले चुचुरोमा करिब २ घण्टा बिताए । जहाँ तथ्यांक संकलनमा १ घण्टा १६ मिनेट लागेको थियो । उनीहरू जेठ ९ गते ६ हजार ४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरबाट हेलिकप्टर चढेर काठमाडौं फर्किएका थिए । यो अभियानका लागि उनीहरूले ४१ दिन लगाएका थिए ।

संयोजक डंगोलका अनुसार यो कार्यक्रमका लागि नेपाल सरकारले बजेटमार्फत १७ करोड विनियोजन गरेको थियो । डंगोलले कति खर्च भयो भन्नेबारे ठ्याक्कै अहिले भन्न नसकिने बताए । यो रकम नेपाल सरकारको आफ्नै स्रोतबाट विनियोजन गरिएको थियो । नेपालले नापी गरेको करिब १ वर्षपछि चीनले गएको वसन्तकालीन सिजनमा आफ्ना प्राविधिकहरूलाई सगरमाथाको उत्तरी मोहोडाबाट उचाइ नाप्न पठाएको थियो । दुवै मुलुकका प्राविधिकहरूले संकलन गरेका तथ्यांकलाई आआफ्ना प्रयोगशालामा विश्लेषण गर्दै निकालिएको नयाँ तथ्यांकलाई मंगलबार सगरमाथाको नयाँ उचाइका रूपमा संयुक्त रूपमा प्रस्तुत गरिएको हो ।

अधिकृत गौतमले स्याटेलाइटको सहयोगमा गरिने जीएनएस सर्भे विधिबाट सगरमाथाको उचाइ मापन गरिएको बताए । यो कार्यका लागि नेपाल र भारतको सिमानामा पर्ने सिरहामा डाटा स्टेसन स्थापना गरिएको थियो । त्यस्तै सगरमाथाको चुचुरो देखिने नेपालका विभिन्न १२ वटा अग्ला विन्दुमा त्रिकोणमितीय आधारहरू पनि स्थापना गरिएको थियो । यो कार्य सकिएसँगै भूमि व्यवस्था मन्त्रालयका सरकारी अधिकारीहरूले अब उच्च हिमाली भेगको सामाजिक तथा पर्यावरणीय विकासमा नेपालसहित विश्वको ध्यान आकर्षित गर्दै नयाँ कार्यक्रम लागू गर्नुपर्ने भनेका छन् ।

नेपाली प्राविधिकको पनि नयाँ उचाइ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आफ्नो स्रोतसाधन र जनशक्तिबाट मापन गरेर सगरमाथाको नयाँ उचाइ घोषणा गरिएसँगै नेपाली प्राविधिक क्षमताको पनि उचाइ थपिएको बताएका छन् ।

‘आज सगरमाथाको मात्र होइन नेपाली प्राविधिक क्षमताको पनि नयाँ उचाइ घोषणा भएको छ, सगरमाथाको बारेमा आधिकारिक, वैज्ञानिक तथ्यमात्र प्राप्त भएको छैन, त्यो तथ्यसँग आमसहमति पनि भएको छ,’ उनले भने । नेपालको नापी विभागले उचाइ मापन गरी संकलन गरेको तथ्यांक प्रशोधन गरेपछि आएको नतिजा चिनियाँ अधिकारीहरूले गरेको सर्भे र उनीहरूले निकालेको तथ्यांक मेल खानुले तथ्यहरूमा रहेको दुविधा वा भ्रमको अन्त्य भएको मन्त्री ज्ञवालीको भनाइ थियो ।

‘नेपालको नापी विभागले सुरु गरेर तथ्यांकहरू प्रशोधन गर्दै जुन विन्दुमा ल्याइपुर्‍याएको थियो, चिनियाँ मित्रहरूको सर्भे र तथ्यांक प्रशोधनमा पनि ठ्याक्कै त्यही नतिजा देखापरेका छन्, अब तथ्यहरूमा कुनै दुविधा, अन्योल र भ्रमहरू बाँकी छैनन्,’ उनले भने, ‘यसले हाम्रो मापनको वैज्ञानिकता र यसको आधिकारिकता थप पुष्टि गरेको छ । यस अर्थमा आज विशेष दिन, गौरव गर्न लायक र सम्झन लायक दिन हो ।’(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...