बुटवल : बुटवलमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभा हेर्न आउन आग्रह गरेका छन् । शनिबार बुटवलमा आयोजितत सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ ।
दुवै समूहले आफ्नो पक्षमा कार्यकर्ता रहेको देखाउन सभा र सम्मेलन गर्दै आएका छन् । सोही क्रममा शनिबार बुटवमाल आयोजित सभालाई अोलीले सम्बोधन गरेका हुन् ।
माघ २८ गते काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको विशाल विरोधसभामा बोल्दै प्रचण्डले ओलीलाई सभा भनेको यस्तो हुन्छ भनेका थिए । त्यसको जवाफ दिँदै ओलीले शनिबार सभा हेर्न बुटवल आउन प्रचण्डलाई भनेका हुन् ।
‘तीन अगाडि मात्र देशभरका मान्छे जम्मा गरेर अलिकति मान्छे देखेपछि, सभा हेर्न यहाँ आऊ केपी ओली भनेर केही मान्छेले भनेका थिए’, प्रचण्डतर्फ लक्षित गर्दै उनको नाम नलिइ ओलीले भने, ‘आज देशभरको होइन । लुम्बिनी प्रदेशको बुलटवलमा आयोजित सभालाई हेर्न आउन उहाँहरुलाई आग्रह गर्छु । आउनुहोस् जनसहभागिता कस्तो हुन्छ ?’ (अन्नपूर्ण )