24.1 C
Kathmandu
Tuesday, March 10, 2026
spot_img

समृद्धिको यात्रा रोक्न खोजियो : प्रधानमन्त्री ओली

७ फागुन, काठमाडौं । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’

गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै उनले सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको बताए । समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम सुरु गरेको, केही सुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने उनको भनाइ छ ।

‘सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार छ,’ प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘दीगो लक्ष्य हासिलपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुनेछ ।’

प्रधानमन्त्री ओलीले कूटनीतिमा वर्तमान सरकारले सफलता हासिल गर्दै गएको दाबी पनि गरे । यही सफलताका कारण विश्व मञ्चमा नेपाल सुनिन थालेको उनले बताए ।

‘हामीप्रति विश्वजगतको ध्यानाकर्षण हुन थालेको छ । हाम्रो गरिमा बढेको छ,’ प्रधानमन्त्री ओलीले भने ।(अन्लाईनखबर )

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles