सर्वोच्च अदालतकै न्यायाधीशहरुको सामूहिक निष्कर्ष- प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

Date:

Share post:

thumb९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्ने निर्णय गरेका छन् । उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ । ‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ सर्वोच्च अदालत उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तपाईंबाट अब न्यायपालिकाको नेतृत्व सम्भव हुने देखिएन । नेतृत्वमै रहे पनि न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ । निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको रहेछ ।’ न्यायाधीशहरूले आपसी सल्लाहमै भेटघाटको एजेण्डा गोप्य राख्ने र सञ्चारमाध्यममा नबोल्ने तय गरेका थिए ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, केही विषयमा बुँदागत रुपमा आफ्नो अवधारणा प्रस्तुत गरेर राजीनामा माग्ने तयारी भएको हो । ‘समग्रमा उहाँले अब सक्नुहुन्न भन्ने नै हाम्रो निचोड हो । न्यायपालिकाभित्रको विवादमा अन्तिम संवैधानिक अस्त्र(महाभियोग) प्रयोगको अवस्था आउनुभन्दा अहिले नै निकास दिंदा उहाँलाई पनि सहज हुनेछ भनेर हामीले स्पष्ट भाषामा भन्नेछौं’ उनले भने, ‘एकाध बाहेक हामी सबै एउटै निष्कर्षमा छौं भनेपछि त उहाँले पनि महसुस गर्नुहोला नि !’
प्रधानन्यायायधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्षका आधारहरू यस्ता छन्-

न्यायपालिकामा बसेर कार्यपालिकासँग पदको सौदावाजी गरे
पदको सौदावाजीका कारण अरु न्यायाधीशहरूलाई अप्ठेरो पर्‍यो
संवैधानिक निकायमा भागबण्डा गर्ने र मुद्दा नहेर्ने प्रवृति भयो
मुद्दामा चलेखल गर्ने र स्वार्थका क्रियाकलापहरु बढेर गए
न्यायपालिका सुधारका एजेण्डामा मौखिक प्रतिवद्धता मात्रै आयो
सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, राजीनामा माग्नुपर्ने सबैभन्दा पेचिलो विषय गजेन्द्र हमालको नियुक्ति र प्रधानन्यायाधीश जबराको रवैयाका कारण हो । ‘पहिलेदेखि मिडियामा त्यही नाम आउनु, उहाँले हमालको प्रतिरक्षा गर्नु र हमाल नै मन्त्री नियुक्त हुनुले पुष्टि गर्दैन र ?’ छलफलका विषयवस्तुवारे जानकार स्रोतले एक न्यायाधीशको भनाइ उदृत गर्दै भन्यो, ‘अरु चार न्यायाधीशले पनि सेटिङमा फैसला गर्‍यो भनेर आरोप खेपिरहने, उहाँले लाभ लिने र हामीले शिर निहुराउनुपर्ने अवस्थामा आगामी दिनमा कसरी सँगै काम गर्न सकिन्छ र ?’

गजेन्द्र हमालका साथसाथै यसअघि दुईपटक संवैधानिक परिषद्को बैठकमा जबराले भागबण्डा लिएको र त्यसैसँग सम्बन्धित मुद्दा अल्मल्याएको विषयमा छलफल भएको थियो । न्यायाधीश हरि फुयाँलले पूर्ण बैठकमा आफ्नो धारणा राखेकै कारण जबराले उनको एकल इजलासमा मुद्दा राखिदिएका थिए । फुयाँलले सहकर्मीमाझ, ‘पूर्ण बैठकमा धारणा राखेकै कारण यो मेरो पक्षमा रहेछ भनेर मुद्दा तोकिदिने हो भने बोल्नै नसक्ने अवस्था आउने’ भनी गुनासो गरेको स्रोतले बतायो ।

मुद्दामा पक्षपात गरेको, परिवारका सदस्यहरुले अदालतबाहिर चलखेल गरेको, न्यायपालिकाभित्र विचौलिया रोक्न नसकेको लगायतका विषयमा जबराको आलोचना भएको स्रोतले बतायो । त्यसैगरी न्यायपालिका सुधारका लागि पेस गरेका प्रतिवेदनका बारेमा बारका पदाधिकारी, न्यायाधीशलगायतसँग फरक-फरक धारणा राखेकोमा पनि जबराको आलोचना भएको थियो । गत भदौ १६ गतेदेखि नै सर्वोच्च अदालतमा गोलाप्रथा लागू गर्ने घोषणा गरेका जबराले उच्च अदालतका मुख्य न्यायाधीशहरूको बैठकमा भने गोलाप्रथाको चर्को आलोचना गरेका थिए । ती न्यायाधीशले भने, ‘समग्रतामा आगामी दिनमा उहाँको नेतृत्व स्विकार्न सकिंदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

भेट्ने कि नभेट्ने ?

छलफलका क्रममा न्यायाधीशहरूबीच आफ्ना विषयवस्तुबारे प्रधानन्यायाधीशलाई भेट्ने कि नभेट्ने भन्नेबारे मतभेद भएको थियो । जति भेटेपनि र सुधारको बाटो औल्याए पनि जबराले मुखले सबै सुधार गर्छु भन्ने तर व्यवहारमा आफ्नै रवैया देखाउने भएकाले भेटेर समयको अनावश्यक खपत गर्नु हुँदैन भन्ने धारणा एकथरी न्यायाधीशको थियो । ‘हामीले भेटमा भनेका र औंल्याएका कुरामा उहाँले कहिले पनि हुँदैन, यो सक्दिनँ भन्नुभएको छ र ?’ एक न्यायाधीशको भनाइ उद्धृृत गर्दै स्रोतले भन्यो, ‘मुखले प्रतिवद्धता जनाएका कुन चाहिं सुधारका काम गर्नुभएको छ र अब विश्वास गर्ने ?’

जवाफमा अरु केही न्यायाधीशहरूले त्यसरी आक्रामक रुपमा जान नहुने धारणा राखे । कसुरदारले समेत सफाइको मौका पाउने भन्दै केही न्यायाधीशहरुले आरोप लगाइसकेपछि एकपटक भेटेर भन्नुपर्ने र उनको पनि कुरा सुन्नुपर्ने धारणा राखे । अर्का न्यायाधीशको भनाइमा, ‘सोझै आरोप लगाएर आफ्नो ढंगले जानुभन्दा उहाँलाई पनि अवगत गराउनुपर्छ भन्ने सुझाव आएपछि भेट्नका लागि मंगलबारको समय तय गरिएको हो ।’

केही न्यायाधीशहरूबाट बैठकका सबै विषयवस्तु थाहा पाउने जबराले आफ्नो धारणा बनाउन पर्याप्त समय पाउने भएकाले मंगलबारको उनको रवैया अनुसार थप रणनीति बनाउने भनी न्यायाधीशहरूले तयारी गरेका छन् ।(अन्लाईनखबर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...