सिटौलाले के गर्लान् ?

Date:

Share post:

केन्द्रीय विभाग गठनमा देउवालाई मौन समर्थन गरेपछि आफ्नै समूहभित्र तानातान
कुलचन्द्र न्यौपाने
काठमाडौं — पार्टी महाधिवेशनको सरगर्मी बढ्दै जाँदा कांग्रेसभित्र तेस्रो धारको नेतृत्वमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने आफ्नै समूहभित्रको चेपुवामा परेका छन्  । पार्टीको केन्द्रीय विभाग गठन गर्ने निर्णयमा सभापति शेरबहादुर देउवालाई मौन समर्थन दिएपछि उनलाई साथ दिँदै आएका युवा नेताद्वय गगन थापा र प्रदीप पौडेल असन्तुष्ट मात्रै छैनन्, क्याम्प छाड्नेसम्मको चेतावनी दिन थालेका छन्  । उता उनकै समूहका केन्द्रीय कार्यसमितिका सदस्यद्वय उमाकान्त चौधरी र शिव हुमागाईं तथा पूर्वमन्त्री भीमसेनदास प्रधान भने वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति निकट हुन नदिने रणनीतिमा छन् । उनीहरू सकभर देउवातिर मिलाउने, नसके तेस्रो धारलाई नै निरन्तरता दिइनुपर्ने पक्षमा छन् । पार्टीभित्र तेस्रो शक्तिको भूमिकामा सिटौलालाई टिकाइराख्ने मुख्य जगका रूपमा युवा नेता थापा छन् ।

उनीपछि सिटौलालाई भरथेग गर्ने प्रदीप पौडेल नै हुन् । ‘यी दुवै युवा नेतालाई गुमाएर सिटौला न देउवातिर जान सक्छन्, न त अन्य सदस्यलाई देउवातिर जान दिन्छन्,’ सिटौला निकट स्रोत भन्छ, ‘आफ्नै समूहलाई निरन्तरता दिएर सबैलाई एकैठाउँमा राख्ने रणनीति अझै उनमा देखिन्छ ।’

त्यसको संकेत उनले ५ दिनअघि झापामा दिएका छन् । केन्द्रीय विभाग गठनपछि उनको भूमिकालाई लिएर राजधानीमा धेरैखाले टिकाटिप्पणी हुन थालेपछि झापा हानिएका सिटौलाले आफैं उम्मेदवार बन्ने संकेत दिएका थिए । पारिवारिक कामले गृहजिल्लाको बसाइ लम्बिएको बताएका उनले केन्द्रीय विभाग गठनपछिको घटनाक्रमबारे भने आइतबार कुनै प्रतिक्रिया दिएनन् । ‘राजधानी फर्केपछि सबै कुरा खोल्छु,’ उनले भने, ‘अझै केही दिन झापामै रहन्छु ।’

विभाग गठनलगत्तै झापामा उनले पत्रकार सम्मेलनमार्फत सभापतिमा उम्मेदवारी दिने उद्घोष गरेका थिए । उनले भनेका थिए, ‘म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम छ भने आजै त्यागिदिनुस् । पार्टीका तल्ला तहका सबै अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु ।’

कार्यकाल सकिनु दुई दिनअघि र सकिएकै दिनमा सभापति देउवाले ४७ मध्ये २० विभाग प्रमुख तोक्दा सिटौला निकट हुमागाईं एउटा विभागको प्रमुखमा परे । विधानविपरीत महाधिवेशनलाई प्रभावित पार्नका लागि सभापतिले केन्द्रीय विभाग गठन गरेको भन्दै पौडेल समूहले आपत्ति जनायो ।

यही विषयले संस्थापन पक्षले बोलाएको जिल्ला उपसभापतिको भेलासमेत पौडेल पक्षले बहिष्कार गर्‍यो । उपसभापति नेतृत्वमा रहेको पार्टीको नीति, प्रशिक्षण प्रतिष्ठानले देशभर प्रशिक्षण चलाउने भनेर ७७ जिल्लाकै उपसभापतिलाई फागुन २१ मा राजधानीमा बोलाइको थियो । यसअघि सभापति देउवाको कदमविरुद्ध पौडेल र सिटौला पक्ष एकसाथ देखिएका थिए । पछिल्लो मुद्दामा सिटौलाको मौनताबाट पौडेल पक्ष पनि झस्किएको छ ।

थापा र पौडेलले भने कार्यकाल सकिएपछि केन्द्रीय विभाग गठन गर्ने सभापतिको कदमको खुलेर विरोध गरेका छन् । विभाग प्रमुख तोक्दा सभापति देउवाले सांसद नभएकालाई अवसर दिने भन्दै मापदण्ड तय गरेका थिए । जुन मापदण्डमा पौडेल पनि परेका थिए । उनलाई विभागमा बस्न आग्रह गरिएको थियो तर मानेनन् ।

‘विभाग गठन विधानसम्मत छैन । आवश्यक पनि छैन । यो निर्णयले महाधिवेशनको वातावरणलाई बिथोलेको छ,’ थापाले कान्तिपुरसँग भने, ‘सभापतिजीले यो निर्णय तत्काल फिर्ता गर्नुपर्छ । नगरे विभागले मान्यता पाउनै सक्दैन ।’ पौडेलले पनि विभाग गठनलाई महाधिवेशन प्रभावित पार्ने योजनाअन्तर्गत रहेको भन्दै निर्णय फिर्ता गर्नुपर्ने बताए ।

केही समयअघि महामन्त्री शशांक कोइराला निवासमा भएको बैठकमा सिटौलासमेत विभाग गठनको औचित्य नभएको भन्दै विरोधमा उभिएका थिए । अहिले विभागमा हुमागाईंको प्रवेशलाई भन्दा पनि केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा झापाका सुधीर शिवाकोटीलाई ल्याएकामा सिटौला मौन रहेको बुझाइ उनी निकट सदस्यहरूको छ ।

सिटौलाले धेरै अघिदेखि नै हुमागाईं र शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन चाहेका थिए । घरेलु राजनीति र आफ्नै निर्वाचन क्षेत्रका शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउने वचनबद्धता उनले धेरै अघि दिएका थिए । तत्कालीन अवस्थामा देउवाले चलाखी गरे । शिवाकोटीलाई नबनाएर आफ्नो निकट आइसकेका हुमागाईंलाई सिटौला समूहका नाममा केन्द्रीय सदस्य बनाइदिए । ‘त्यही कमजोरी देउवालाई थाहा थियो । विभाग गठनमा वरिष्ठ नेता पौडेल पक्षले साथ नदिएपछि सिटौलाको समर्थन लिन देउवाले चलाखी गरे । शिवाकोटीलाई आमन्त्रित सदस्य बनाएर हुमागार्इंलाई विभाग प्रमुख बनाई सिटौलालाई चुप राख्न सफल रहे ।’

१३ औं महाधिवेशनमा आफ्नो टिमले चुनाव हारेपछि सिटौला सभापति देउवातिरै थिए । ०७४ को निर्वाचनपछि उनले सभापति देउवाको क्याम्प छाडे । देउवाको काम गर्ने शैलीलाई कारण देखाउँदै सिटौला इतरसमूहमा जोडिन पुगे । त्यसपछि सिटौलाले देउवाको हरेक कदमको खरो रूपमा विरोध गर्दै आएका थिए ।

आन्तरिक मुद्दामा उनी पौडेलसँग बढ्ता निकट देखिन्थे । युवा नेता थापा र पौडेलको भूमिका त संस्थापनइतरका दुवै समूहलाई जोड्न नै केन्द्रित थियो । तर, १३ औं महाधिवेशनबाट बढेको अविश्वासले पौडेल र सिटौलाको मन माझिन सकेन । बेलाबखत पार्टीभित्रको भागबन्डा र मुद्दामा समेत पौडेल र सिटौलाबीच अविश्वास कायमै रह्यो । जसका कारण सिटौलाले आफ्नै समूहलाई क्रियाशील बनाउन खोजे ।

महाधिवेशनको सरगर्मी बढ्दै जान थालेपछि सिटौला देउवा र पौडेल दुवैका लागि आवश्यक ठानिएका छन् । सिटौलालाई आफ्नै पक्षमा ल्याउन पौडेल पक्षले नेविसंघको भागबन्डामा ४० प्रतिशत माग छाडेको थियो । पौडेल पक्षकै सहयोगबाट सिटौलाले नेविसंघमा २८ प्रतिशत भाग पाएका थिए ।

‘सके सिटौलासहित समूहलाई तान्ने, नसके त्यहाँभित्र रहेका सदस्यलाई आ–आफ्नो पक्षमा ल्याउन दुवै समूह नै लागेको देखिन्छ,’ पार्टीका अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘यही बुझेर नै सिटौलाले आफू उम्मेदवार होइन भन्ने भ्रम त्यागिदिन आग्रह गरेका हुन सक्छन् ।’(कान्तिपुर )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

निरेम प्रोडक्सनले “निरेम सांगितिक उत्सव २०२४” आयोजना गर्ने

कुवेत: निरेम प्रोडक्सनले सन् २०२५ को 'भ्यालेण्टाईन डे' अर्थात प्रणय दिवसको दिन 'निरेम सांगितिक उत्सव २०२५' आयोजना गर्ने...

एनआरएनए एनसिसि कुवेतले भलिबल प्रतियोगिता आयोजना गर्ने, इतिहासकै ठूलो धनराशि पुरस्कार घोषणा :

एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको...

बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बरमा हुने

चन्द्र कुवेत - बागलुङ सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी २० सेप्टेम्बर २०२४ मा हुने भएको छ । कुवेतस्थित...

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

प्रधानमन्त्री ओलीको निर्देशनपछि परामर्श र प्रक्रिया अघि बढाउँदै सञ्चार मन्त्रालय तत्कालीन दाहाल सरकारले गत कात्तिक २७ मा प्रतिबन्ध लगाउने...