-राज मल्ल
कुवेतमा नेपालीको संख्या पछिल्लो समय करिब दुई लाखको हाराहारीमा पुगिसकेको छ। यो केवल एउटा संख्या होइन, लाखौँ सपना, आशा, संघर्ष र परिवारको भविष्यसँग जोडिएको संख्या हो। हजारौँ नेपालीले कुवेतको चर्को गर्मी, कठिन श्रम र अनेकौँ चुनौतीबीच इमानदारीपूर्वक पसिना बगाइरहेका छन्। कसैले घर बनाएका छन्, कसैले छोराछोरीको भविष्य सुनिश्चित गरिरहेका छन्, कसैले ऋण तिरिरहेका छन्, कसैले नेपालमा व्यवसाय सञ्चालन गरिरहेका छन् भने कसैले रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्रमा समेत योगदान पुर्याइरहेका छन्। इमानदार नेपालीको यही मेहनत र संघर्षले कुवेतमा नेपालीको पहिचान बनाएको छ। तर प्रश्न यति हो केही व्यक्तिको गलत कामका कारण सिंगो नेपाली समुदायले बदनामीको भारी बोकिरहनुपर्ने हो?
कुवेतमा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा हुँदै गएको देखिन्छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी, पक्राउ, अनुसन्धान तथा कानुनी कारबाहीलाई सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाइरहेका छन्। मदिराको उत्पादन तथा बिक्री, लागुऔषधको कारोबार तथा सेवन, जुवा तथा सट्टेबाजी, अनधिकृत व्यापार, भिसा तथा आवासीय नियमको उल्लंघन, अनुमति बिना घरबाट व्यवसाय सञ्चालन, गैरकानुनी रूपमा सँगै बस्नेलगायतका गतिविधिमा संलग्न व्यक्तिहरू कारबाहीको दायरामा पर्न सक्छन्। यस्ता गतिविधिमा नेपाली पनि संलग्न भएको खबरहरू सार्वजनिक भइरहेका छन्। कसैलाई पक्राउ गरिएको खबर आउँदा त्यसलाई सनसनीका रूपमा मात्र हेर्नुभन्दा त्यसबाट सम्पूर्ण नेपाली समुदायले पाठ सिक्नुपर्ने आवश्यकता छ।किनकि एउटा व्यक्तिको गल्ती व्यक्तिगत हुन सक्छ, तर त्यसको असर कहिलेकाहीँ सिंगो समुदायसम्म पुग्छ। उसले बोकेको परिचय केवल उसको व्यक्तिगत नाम हुँदैन, उसको परिचयसँग ‘नेपाली’ शब्द पनि जोडिएको हुन्छ। साथै एउटा नेपालीको गलत गतिविधिका कारण रोजगारदाताको नेपालीप्रतिको धारणा बदलिन सक्छ, नेपाली श्रमिकप्रतिको विश्वासमा असर पर्न सक्छ र भोलि नेपालबाट आउने नयाँ श्रमिकका लागि रोजगारीका अवसरसमेत प्रभावित हुन सक्छन्। त्यसैले गलत काम गर्ने व्यक्तिले आफ्नो मात्र भविष्य जोखिममा पारिरहेको हुँदैन, उसले अनजानमै सिंगो समुदायको प्रतिष्ठामाथि समेत प्रश्न उठाउने अवस्था सिर्जना गरिरहेको हुन्छ।
हाम्रो समुदायमा अझै एउटा खतरनाक मानसिकता देखिन्छ ‘सबैले गर्छन्’, ‘केही हुँदैन’, ‘प्रहरीलाई थाहा हुँदैन’, ‘अरूले पनि त गरिरहेका छन्।’ यही सोचले मानिसलाई विस्तारै जोखिमपूर्ण गतिविधितर्फ धकेल्छ। अरूले गरेको गलत काम सही हुँदैन। आजसम्म पक्राउ नपरेको कारण भोलि पनि पक्राउ पर्दैन भन्ने कुनै ग्यारेन्टी हुँदैन। केही समय लुकेर गैरकानुनी काम गर्न सफल हुनु उपलब्धि होइन, त्यो जोखिम हो। त्यसको परिणाम पक्राउ, अनुसन्धान, जरिवाना, जेल, देश निकाला, रोजगारी गुम्नु वा भविष्यमा विदेश जाने अवसरसमेत गुम्नु हुन सक्छ। विदेशमा बसेर कानुन छल्न सक्नु चतुर्याइँ होइन, आफ्नै भविष्यसँग खेल्नु हो।तर विडम्बना के छ भने कसैले ‘यो काम नगर्नुस्, कुवेतको कानुनविपरीत पर्न सक्छ’ भनेर सम्झाउँदा समेत कतिपय मानिस रिसाउँछन्। ‘मेरो काममा किन हस्तक्षेप?’, ‘अरूले पनि त गरिरहेका छन्’, ‘मलाई कानुन थाहा छ’ जस्ता जवाफ आउँछन्। प्रश्न यो हो गलत काम नगर्नुस् भन्नु दुश्मनी हो? कानुनको सम्मान गर्नुस् भन्नु ईर्ष्या हो? लागुऔषध, जुवा, सट्टेबाजी वा अनधिकृत व्यापारबाट टाढा रहनुस् भन्नु व्यक्तिगत हस्तक्षेप हो? होइन। कहिलेकाहीँ तपाईंलाई रोक्ने मानिस नै तपाईंलाई ठूलो दुर्घटनाबाट बचाउन खोजिरहेको हुन्छ। कानुन पालना गर्नुस् भन्नु कसैको व्यक्तिगत विरोध होइन, गलत काम नगर्नुस् भन्नु समुदायप्रतिको जिम्मेवारी हो।



