काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटी बैठकद्वारा पारित ‘आठबुँदे’ विशेष राजनीतिक प्रस्ताव नै राष्ट्रिय सहमतिको रोडम्याप भएको बताउनुभएको छ । अध्यक्ष खनालले केन्द्रीय कमिटीको साउन २६ गतेको बैठकले सर्वसम्मत रूपमा आठबुँदे विशेष राजनीतिक प्रस्ताव पारित गरेको प्रसङ्ग उठाउँदै पार्टीका निर्देशन, निर्वाचित नेतृत्व, पार्टी विधानलाई कसैले पनि मिच्न नमिल्ने बताउनुभयो ।
नेकपा -एमाले) संसदीय दलको सोमबार बसेको ३२औँ बैठकमा अध्यक्ष खनालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
“बहुमतको सरकार कसरी बन्छ हेरौँला”, राष्ट्रिय सहमतिबिना कसैले पनि शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउन नसक्ने र संविधान पनि नबन्ने स्पष्ट पार्दै अध्यक्ष खनालले भन्नुभयो, “राष्ट्रिय सहमति निर्माणका लागि एमालेले गरेको निर्णय चट्टान नै हो । यो निर्णयलाई खिल्ली उडाउने र उल्लीबिल्ली गर्ने नगरौँ ।”
कुनै पनि बहुमतीय सरकार निर्माणमा मतदान नगरी ‘तटस्थ’ रहने पार्टी केन्द्रीय कमिटीको निर्णय परिवर्तनका सन्दर्भमा सभासद्हरूले गर्नुभएका टिप्पणी र जिज्ञासाका विषयमा अध्यक्ष खनालले भन्नुभयो, “राष्ट्रिय सहमतिका लागि अडानका सन्दर्भमा झलनाथका खुट्टा फलामका हुन् । कुनै चिन्ता लिनु पर्दैन ।”
उहाँले नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले दिनुभएका अभिव्यक्तिले ‘कूटनीतिक मर्यादाको पालना नगरेको’ भन्दै मुलुकको समस्या समाधान गर्ने बल र बुद्धि हामीसँगै हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा अधिकांश सभासद्ले कुनै पनि बहुमतीय सरकारमा सहभागी नहुने र त्यस्तो सरकार निर्माणका लागि सहयोग पनि नगरी प्रधानमन्त्रीको निर्वाचनमा ‘तटस्थ’ बस्ने केन्द्रीय कमिटीको निर्णयमा अडिग रहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा सभासद्हरू शत्रुघ्न महतो, रवीन्द्र अधिकारी, गोपाल ठाकुर, हर्कबहादुर सिंह, रामनाथ ढकाल, युवराज कार्की, शान्तिमाया तामाङ, रामजी शर्मा, सावित्रा भुसाल, दीपक कार्की, राजकुमार राई, रिजमान अन्सारी, शान्ति विक, थममाया थापामगर, उषाकला राई, रत्न गुरुङ, पासाङ शेर्पा, सोनाम छेजुङ लामा, रणध्वज कन्दङ्वा, सुरेन्द्र पाण्डेले राष्ट्रिय सहमतिमा पार्टीको भूमिका र केन्द्रीय कमिटीले गरेका निर्णयका विषयमा आˆना धारणा राख्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थिति रहेको थिएन ।
दलका प्रमुख सचेतक भीम आचार्यले प्रधानमन्त्रीका प्रतिस्पर्धी नेपाली काङ्ग्रेस र एकीकृत नेकपा -माओवादी) एमालेको आश गरेर बसेको चर्चा गर्दै एमालेको व्यवहारले नै यो सम्भव छैन भनेर सन्देश दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियेा ।
बैठकले नेकपा -एमाले) संसदीय दलले प्रधानमन्त्री निर्वाचनको चालू प्रक्रिया कायम रहेसम्म कुनै पनि उम्मेदवारलाई मतदान नगरी ‘तटस्थ’ रहने निर्णय गरेको छ ।
यसैगरी बैठकले शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतिको पक्षमा उभिँदै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन दुवै दललाई आग्रह गर्ने र नयाँ प्रक्रिया थालनी गर्न संविधानसभा व्यवस्थापिका संसद् सञ्चालन नियमावली संशोधन गर्न सबै दल एवं सभासद्सँग वार्ता र पहल गर्ने निर्णय गरेको छ ।
बैठकले राजनीतिक प्रस्तावसमेत पारित गरेको छ । बैठकले ‘तटस्थ’ को निर्णयमा अडिग रहन पार्टी केन्द्रीय कमिटीलाई आग्रह गर्दै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन र व्यवस्थापिका संसद् नियमावली संशोधनको बाटोमा अघि बढ्न सबै राजनीतिक दललाई अनुरोध गरेको छ ।



