फागुन २६ (नागरिक)- गृहमन्त्री भीमबहादुर रावलसँगको लामो खटपटपछि राज्यमन्त्री रिजवन अन्सारीले पदत्याग गरेका छन्। उनले बुधबार प्रधानमन्त्रीसमक्ष औपचारिक राजिनामा पत्र बुझाउनेछन्। आठ महिनाअघि राज्यमन्त्रीमा नियुक्त भएदेखि नै अन्सारीले सरुवा, आर्थिक सहायता, सुरक्षा लगायत जिम्मेवारी नपाएको भन्दै मन्त्रीविरुद्व असन्तुष्टी ब्यक्त गर्दै आएका थिए। मंगलवार राति नेपालले राजीनामा मागेपछि अन्सारी पदत्यागको निर्णयमा पुगेका हुन्। सार्वजनिक रुपमा सरकार र मन्त्री रावलको आलोचना गरेको आरोपमा अन्सारी कारवाहीमा परेका छन्।
शान्ति सुरक्षामा सुधार नआए १५ दिनभित्र राजीनामा दिने घोषणा गरेको थिए उनले नागरिकसँग भने- सुधार हुने लक्षण देखिएन त्यसैले बुधवार राजीनामा दिंदैछु। अन्सारीले तीन दिन अघि सुरक्षा व्यवस्थामा सुधार नआए पन्ध्र दिनमै राजिनामा दिने घोषणा गरेका थिए। उनले शान्ति सुरक्षाको वहालीलाई राजिनामाको कारण बनाएका छन्। मन्त्री आफैले प्रत्यायोजन गरेको अधिकार समेत प्रयोग गर्न नपाएको भनि नियुक्ति भएको दुई महिनामै रावल र अन्सारीबिच विवाद सुरु भएको थियो। पूर्ववर्ती मन्त्रीहरुको अनुसरण गर्दै रावलले एसपीसम्मको सरुवाको अधिकार उनलाई दिइएपनि अन्सारीले त्यसको अभ्यास गर्न पाएनन्। त्यस्तै गृहबाट वितरण हुने आर्थिक सहायतामा मन्त्रीको एकलौटी तजबिज हुने तर राज्यमन्त्रीले एक पैसा पनि बाड्न नपाउनु विवादको जड बनेको थियो। गृहमन्त्रीले सुराकी खर्चबापत दैनिक ५० हजार र सचिवले दैनिक २० हजार खर्च गर्न पाउँछन्। राज्यमन्त्रीले आफूले भने कार्यकर्तालाई रित्तो हात पठाउनुपर्ने भन्दै आक्रोश र निराशा व्यक्त गरिरहेका हुन्थे।
एसपीको सरुवा बढुवा र पदस्थापनमा पनि रावलले एकलौटी गरेपछि बिग्रेको सम्बन्ध पानी बाराबार भयो। जमिम शाह हत्या प्रकरणपछि उनी रावलप्रति थप आक्रामक भए। मुस्लिम समुदायप्रति सद्भाव प्रकट गर्न उनी हत्या काण्डपछि मन्त्रीको सार्वजनिक आलोचनाको मात्रा अझै बढाएका थिए। सर्लाही-२ बाट संविधानसभामा निर्वाचित अन्सारी २२ वर्षदेखि कम्युनिष्ट राजनीतिमा छन्। २०४४ सालमा नेकपा मानन्धरको सदस्यता लिई राजनीतिक यात्रा सुरु गरेका अन्सारी २०४८ सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए। एमालेले २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उनलाई सांसदको उम्मेदवार बनाएको थियो। प्रधानमन्त्री सहित मन्त्रिपरिषद्मा एमालेका दस जना सदस्यध्ये संविधान सभामा अन्सारी मात्र प्रत्यक्ष निर्वाचनबाट चुनिएका थिए।



