झापा विद्रोहका अगुवाको घरमा एकपछि अर्को पीडा / बाबुले आत्महत्या गरेको चार महिनापछि छोरा पनि झुन्डिए

रमेश समदर्शी, (बिर्तामोड),

 झापा विद्रोहका अगुवा झापा दुहागढी-५ का डिकेन्द्र डिगेन राजवंशीले एमाले पार्टी मुख्यालयमा आत्महत्या गरेको चार महिनापछि उनका छोरा शम्भु राजवंशीले पनि आत्महत्या गरेका छन्। पार्टीको बेवास्ताका कारण झापा विद्रोहका अगुवा राजवंशीले आत्महत्या गरेपछि संकटमा परेको पीडित परिवारको जिम्मेवारी सम्हाल्दै आएका शम्भुले आइतबार दिउँसो आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेका हुन्। आफ्नै पार्टीका नेताहरुको रुखो व्यवहार सहन नसकेपछि झापा विद्रोहका अगुवा राजवंशीले गत वैशाख ४ गते शनिबार एमाले मुख्यालय बल्खुमा झुन्डिएर आत्महत्या गरेका थिए।

तत्कालीन नेकपा मालेबाट राजनीति शुरु गरेका राजवंशीले पाचायतकालमा कम्युनिस्ट राजनीतिमा लागेकै कारण राजद्रोहको आरोपमा नौ वर्ष जेलजीवन बिताउनुपरेको थियो।

आफूसम्बद्ध पार्टी सरकारमा रहेका बेला छोरा शम्भुलाई जागिर माग्दै राजवंशी छ महिनाअघि काठमाडौं पुगेका थिए। उनका दुई छोरामध्ये शम्भु कान्छा हुन्। अर्का छोरा जेठा ऋषिराज रोजगारीका सिलसिलामा साउदीमा छन्। आठ कट्ठा जग्गा बेचेर उनी बिदेसिएका हुन्। राजवंशीको परिवार दुहागढी-५ मा बस्दै आएको थियो। शम्भुकी आमा प्रमिला स्थानीय बजारमा प्याजी बेचेर आएको दुई चार रुपियाँले घरखर्च टार्छिन्। आमा प्रमिलाले आफू बजार गएको बेला छोरा झुन्डिएको बताइन्।

डिकेन्द्रले झापा विद्रोहका सहयात्रीहरुका घर र ती बस्ने कार्यालय धाउँदासमेत छोरालाई जागिर लगाउन सकेका थिएनन्। पछि शम्भु पनि जागिर नखाने भन्दै घरमै बस्दै आएका थिए।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles