लेख्नै नमिल्ने शब्दले गाली गरे मन्त्रीले अर्का मन्त्रीलाई

काठमाडौ, चैत्र ७ । मुलुकको सर्वोच्च कार्यकारी र मर्यादित मन्त्रिपरिषदको बैठकमा शुक्रबार एक मन्त्रीले अर्का मन्त्रीलाई अश्लील शब्द प्रयोग नै गरे ।

‘मेसिन रिडेवल पासपोर्ट (एमआरपी)’ छपाइका विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र गृहमन्त्री भीम रावलबीच विवाद चलिरहेको थियो । बीचमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरी सुजाताको पक्ष लिई रावलविरुद्ध जाइलागे । उनीहरूबीच भनाभन चल्यो । विवाद चर्कंदै गएपछि चौधरीले रावललाई अश्लील शब्द प्रयोग गरे । त्यो शब्द यति अश्लील थियो जुन कसैले उच्चारण गर्न र लेख्न सकिँदैन ।

बैठक स्रोतका अनुसार चौधरीले अपशब्द प्रयोग गरेपछि बैठकमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई हम्मे पर्‍यो । लगत्तै उनले अश्लील शब्द बोलेकामा माफी मागी अनुशासनमा बस्न र भनाभन नगर्न मन्त्रीहरूलाई ‘रुलिङ’ गरे । 

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्री चौधरीले गल्ती स्वीकार्दै क्षमायाचना गरे । एक मन्त्रीका अनुसार चौधरीले गृहमन्त्रीको एमआरपीबारे राखेको धारणाको आशय नबुझेर आफू आक्रोशित भएको उल्लेख गर्दै सजिलैसँग शब्द फिर्ता लिएका थिए । मन्त्रिपरिषदका एक अनुभवी सदस्यले यसअघि क्याबिनेटमा यति ठूलो भनाभन र अश्लील शब्दले गालीगलौज कहिल्यै नभएको बताए ।

बैठक स्रोतका अनुसार परराष्ट्रमन्त्रीले भारतबाट ४० लाख थान एमआरपी खरिद गर्ने प्रस्ताव गरेकी थिइन्, गृहमन्त्री भीम रावलले एकैचोटि त्यति धेरै किन ल्याउनुपर्‍यो भन्ने धारणा राखेपछि परराष्ट्रमन्त्रीले आक्रोश व्यक्त गरेकी थिइन् ।

गृहमन्त्रीले हाल दैनिक दुई हजार मात्र पासपोर्ट माग रहेकाले एकैपटक ४० लाख छपाइ गर्नु आवश्यक नभएको बताएपछि विवाद बढेको थियो । कोइरालाले ४० लाखै आवश्यक हुने अडान राखेकी थिइन् भने रावलले तत्काललाई १० लाखमात्र छापी काम चलाउन सकिने बताएका थिए । विवादपछि मन्त्रिपरिषदले संख्या नतोकी आवश्यकताअनुसार एमआरपी खरिद गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री कोइरालाले एमआरपीका विषयमा भएको बहसलाई अनावश्यक भन्दै आपत्ति जनाएकी थिइन् । 

Source: solidarity

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles