विमानस्थलमा नयाँ राडार जडान गरिने

शिला पाण्डे                    
काठमाडौ, श्रावण ३१ – आगामी फागुनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ राडर जडान हुने भएको छ । राडार जडानको तयारीका लागि अन्तर्राष्ट्रिय  नागरिक उड्डयन संगठन (आईकाओ) का दुई विज्ञको टोलीले प्रारम्भिक अध्यन गरिरहेका छन् । टोलीमा आईकाओका ‘कम्युनिकेसन नेभिगेसन सर्भिलेन्स’ र एयर ट्राफिक व्यवस्थापनका एक-एक विज्ञ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पुरानो राडारको समयावधि सकिन लागेको र बारम्बार बिगि्ररहने भए पनि नयाँ डिजिटल प्रविधिको राडार जडानका लागि पहल थालिएको हो । हालैमात्र पुरानो राडारको डिस्प्ले  बिगि्रएको विमानस्थल व्यवस्थापनले बतायो ।

यस्तो अवस्थामा बढ्दो एयर ट्राफिक व्यवस्थापन गर्न र स्वचालित राडार जडानले हवाई उडानलाई बढी सुरक्षित बनाउने प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले बताए । भौगोलिक अवस्थाका कारण पूर्ण क्षमतामा जहाज उडानबारे जानकारी पाउन नसकिने भएकाले अब जडान हुने नयाँ राडारले यो समस्या समाधान गर्ने उनको भनाइ छ । जसले विमानचालकलाई मौसमी अवस्थाबारे जानकारी दिनुका साथै भौगोलिक नक्सा र उडान सूचना एकसाथ प्रदान गर्नेछ । ‘टोलीले दिएको अध्ययन प्रतिवेदनका आधारमा राडार जडानका लागि ग्लोबल टेन्डर आह्वान गरिनेछ,’ न्यौपानेले भने ।

करिब १२ वर्ष पुरानो राडारले नयाँ हवाईमार्ग र बढ्दो एयर ट्राफिकलाई धान्न नसक्ने भएकाले यसलाई समाधान गर्न सरकाले नयाँ राडार जडानको तयारी गरेको हो । ‘यदि नयाँ जडान नगर्ने हो भने पुरानो राडारको मर्मत खर्च थेग्न सक्ने अवस्था छैन,’ कम्युनिकेसन नेभिगेसन एन्ड सर्भिलेन्स विभागका निर्देशक महेन्द्रसिं रावलले भने । सन् १९९२ मा थाई एयरवेजको जहाज नुवाकोटको घोप्टेभीरमा दुर्घटना भएर चालकदलका १४ सहित १ सय १३ जनाको निधन भएको थियो । त्यसमा जापानीहरूको संख्या उल्लेख्य थियो । राडार भएको भए दुर्घटना टार्न सकिन्थ्यो भन्ने समाचार संसारभर प्रकाशित भएपछि जापानी सरकारले राडार प्रदान गरेको थियो ।

पुरानो राडार जडान गर्दा दुई अर्ब ४८ करोड २० लाख रुपैयाँ -३४ मिलियन अमेरिकी डलर) खर्च भएको रावलले बताए । ‘जडानपछिको मर्मत खर्चमात्र तीन अर्ब १० करोड २५ लाख रुपैयाँ -४२.५ मिलियन अमेरिकी डलर) भइसकेको छ,’ उनले भने । नयाँ जडान हुने राडारमा मुलुकको सबै क्षेत्रलाई समेट्न सक्ने क्षमता हुने उनले जानकारी दिए । हाल विमानस्थलमा प्राइमरी राडार र सेकेन्डरी सर्भिल्यान्स राडार जडान छन् । जसमध्ये प्राइमरीले ६० नटिकल माइल र सेकेन्डरीले २ सय नटिकल माइलसम्म समेट्छ ।

रावलका अनुसार ३ थरीको राडार -प्राइमरी/सेकेन्डरी, स्वचालित सर्भिलेन्स ब्रोडकास्ट र मल्टिल्युटेरेसन राडार) मध्ये सुहाउँदो छनोट गर्न सकिन्छ । ‘आईकाओका विज्ञले दिने प्रतिवेदनका आधारमा सर्भिलेन्स प्रणाली सुहाउँदो राडार छनोट गरिनेछ,’ उनले भने । छनोट भएको राडार पनि कुन स्थानमा जडान गर्नेबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । मुलुकभर हवाईमार्ग समेट्नका लागि उचित स्थानमा राडार जडान गर्नु आवश्यक छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल नयाँ राडार जडानको सम्पूर्ण काम चालू आर्थिक

वर्षभित्रै सक्ने लक्ष्यसहित काम सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

Latest Articles