चितवन, जिल्लाप्रहरी कार्यलय चितवन अगाडी विहीबार बिहान १० बजे अधिबक्ता पदम दाहालमाथि गोली प्रहार गरिएको छ । अधिवत्ता दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ । गोली प्रहार लगत्तै आक्रमणकारी मध्येका एक पर्सा जिल्ला बस्ने २९ बर्षीय दिलबहादुर लामाले हतियार सहित प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका थिए । तीनवटा कालो पल्सर मोटरसाईकलमा आएका ६ जनाको समूहले उनीमाथी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जसमध्ये ना ९ प ६०६४ नम्बरको कालो पल्सर मोटरसाईकलमा आएका दुईजनाको समूहले दाहालमाथि गोली प्रहार गरेका थिए । घटनास्थलबाट गोलीको दुईवटा खोका बरामद भएको छ । मोटरसाईकलको पछाडी बस्नेले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न अन्य ५ जना भने फरार रहेको र उनीहरुको खाजी कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीहरुले दाहाल माथि किन गोली प्रहार गरे भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



